0 COMMENTS

काठमाडौं २३ साउन ०७४/एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२ सांसद लिएर आएका राणा बाहिरिँदा १९ सांसद लगेर गएका छन् । आइतबार नै नयाँ दल दर्ताका लागि नेताहरू दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालगायत नेताहरूले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

राणासँग १९, थापासँग १७ सांसद

थापाले १९ सांसद र ७० केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको बताए । ‘हामीले १९ सांसद र ७० केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा पशुपतिशमशेर राणाको नेतृत्वमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नामको दल दर्ताका लागि आवेदन दिएका छौँ,’ उनले भने । राप्रपामा ३७ सांसद थिए । समानुपातिकतर्फका सांसद पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएपछि सो पार्टीमा ३६ सांसद छन् । राणा पक्षले १९ सांसदको हस्ताक्षरसहित नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेसँगै कमल थापा नेतृत्वमा १७ सांसद मात्र बाँकी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ दल दर्ताका लागि आवेदन दर्ता भएको बताए । २४ सांसद रहेको राप्रपा नेपाल र १२ सांसद रहेको राप्रपाबीच गत ३० कात्तिकमा पार्टी एकता भएको थियो । राजनीतिक दलसम्बन्धी नियमावलीमा नयाँ दल दर्ताका लागि पार्टीका सांसद र केन्द्रीय सदस्य ४० प्रतिशत पु¥याउनुपर्ने प्रावधान छ । दुवै प्रावधान पूरा गर्दै नयाँ दल दर्ताका लागि आवेदन दिइएको केन्द्रीय सदस्य प्रेम बलायरले बताए । राप्रपाको केन्द्रीय समितिमा कमल थापाले मनोनयन गरेका ४२ सहित १६२ केन्द्रीय सदस्य थिए ।

संसद् सचिवालयमा पनि जानकारी

राणा पक्षले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ पार्टी गठनका लागि निर्वाचन आयोगमा आवेदन दर्ता गराएको जानकारी संसद् सचिवालयमा पनि गराएको छ । सुनील थापाको नेतृत्वमा संसद् सचिवालयमा पुगेर १९ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइएको थियो । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले १९ सांसदको हस्ताक्षरसहित नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेको जानकारी दिए ।

विवाद एकता महाधिवेशनबाटै

गत ६–९ फागुनमा सम्पन्न एकता महाधिवेशनमा पार्टीको लाइन के हुने भन्नेमै राप्रपामा विवाद देखिएको थियो । अध्यक्षमा निर्वाचित कमल थापा र उनीपक्षधर नेताहरू राजासहितको प्रजातन्त्रको लाइन लिनुपर्ने पक्षमा थिए । नेता पशुपतिशमशेर राणासहितका केही नेता मुलुक गणतन्त्रमा गइसकेकाले प्रजातान्त्रिक धारलाई पार्टीको लाइन बनाउनुपर्ने पक्षमा थिए । तर, अध्यक्ष थापाले जोडबल लगाएर राजासहितको प्रजातन्त्रको लाइन पारित गराए, त्यहीँदेखि विवाद सुरु भएको हो । पार्टीको सो निर्णयप्रति असहमति जनाउँदै गत २ चैतमा डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन भएको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि अध्यक्ष थापाको आलोचना सुरु भएको थियो । हलो चुनाव चिह्न छाडेकाले यस्तो परिणाम आएको राणा पक्षको तर्क थियो । तर, अध्यक्ष थापाले पार्टी फुटाउने षड्यन्त्र भएको भन्दै एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरे । एकता महाधिवेशनको मर्मविपरीत अध्यक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै राणाले पार्टीको पदाधिकारी, कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरे । तर, उनको माग सम्बोधनबारे संस्थापन पक्ष जिम्मेवार बनेन, त्यो नै पार्टी विभाजनको कारण बन्न पुग्यो ।

राणासँग को–को सांसद गए ?

दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, पर्शुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुइँटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा र विराज विष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।