0 COMMENTS

रमिला बस्नेत ,धरान ,साउन १८/निर्वाचन आयोगले छुटेका मतदाताको फोटो सहितको नामावली संकलन गर्न तोकेको समय साउन ३० गते सम्म सबै छुटेकाले नाम लेखाउन र फोटो खिचाउन नभ्याउने सम्भावना देखिएको छ ।

धरानमा साउन १६ गते सोमवारदेखी फोटो खिचाउन थालिएको छ । धरान उपमहानगरपालिका व्दारा जारी सूचना अनुसार वडा नं १, २, ३, ७, ८, १३, १८, १९ का छुट मतदाताले १६ देखी २६ गते सम्म धरान ८ स्थित सभागृहमा फोटो खिचाउने व्यवस्था गरिएको छ । फोटो खिच्न शुरु भएको चार दिन विहीवार सम्ममा नागरिकता लिएर फोटो खिचाउन जानेहरु मध्ये आधाको पनि फोटो खिचिएको छैन् ।

सभागृहमा छुटेका मतदाताहरुको अत्याधिक भीड लागेको छ । नागरिएकता लिएर गएका अधिकांश छुटेकाहरुको बसोबास धरानमा भएपनि उनिहरुको नागरिकता अन्य जिल्लाको भएको भन्दै फोटो खिचाउन इन्कार गरेकाले फोटो खिचाउन गएका संग विवाद हुँदा विहीवार दिउँसो निकै बेर फोटो खिच्ने कार्य अवरुद्ध भएको थियो । फोटो खिच्न आएका प्राविधिक टोलीले नागरिएकता बाहेक जग्गाधनी पूर्जा, बसाई सराई र वडाको सिफारिस समेत लिएर आउन भनेर ठाडो जवाफ दिदैं मतदातालाई फर्काउन थालेपछि विवाद उत्पन्न भएको हो । विहन ८ बजेदेखी फारम भरेर लाइनमा बसेकाहरु लाई फोटो खिच्ने कोठामा पुगेपछि नखिचाई फर्कनु पर्दा उनिहरु आक्रोशीत भएका हुन् ।

छुटेका मतदाताहरु सुकुम्बासी भएको अवस्थामा जग्गाधनी पूर्जा, बसाई सराई, वडाको सिफारिस मागिएपछि मतदातामा नाम लेखाउन जानी जानी झन्झटिले बनाउन खोजिएको उनिहरुको आरोप थियो । मतदाता नामावली संकलन टोलीको यस्तो व्यवहारले पहाडि जिल्लाको नागरिकता भएकाहरुले मतदातामा नामै लेखाउन नपाउने अवस्था सिर्जना गरेको आरोप पनि उनिहरुको छ । नागरिकता पहाडि जिल्लाको भएपनि बर्षौदेखी धरानमा सपरिवार बासोबास गर्दै आएकाहरुले तोकिएको म्यादभित्र छुटेका मतदाताको रुपमा नाम लेखाउन नपाउँदा नागरिकता बनाएको जिल्ला पनि नाम लेखाउन नपाउने स्थिति भएको भन्दै उनिहरु आक्रोशित भएका हुन् ।

टोलीले अध्यक्षको सही भएको वडा कार्यालयको सिफारिस ल्याउन भनेपछि त्यस्तो लिखित सिफारिस लिएर जाँदा समेत फोटो खिच्न इन्कार गर्दै प्राविधिकले ‘मैले चाँहे भने फोटो खिचेरपनि डिलिट गरिदिन्छु’ भन्ने धम्की दिएको आरोप उनिहरुले लगाए । निर्वाचन आयोगले फोटो सहितको मतदाता परिचयपत्र शुरुगर्दा मतदाताको घर घरमा गएर विवरण फारम भरि फोटो खिच्न मात्र निश्चित ठाउँमा बोलाएको थियो । छुट मतदाताको फारम भर्ने र फोटो खिच्ने कार्य एकै पटक गर्दा प्रकृया झन्झटिलो भएको देखिएको छ । नेपाली नागरिकताको प्रमाणपत्र भएपछि अन्य कागजात थप प्रमाणको रुपमा मागगर्ने नामावली संकलन टोलीको व्यवहार संविधान र ऐन कानुन विपरीत भएका कानुनका विज्ञहरुले बताएका छन् । उनिहरुका अनुसार संविधान र कानुन अनुसार नेपाली नगरिकता भएका कुनै पनि व्यक्तिले मतदाता बन्न पाउने अधिकार राख्दछ ।

फोटो खिचाउने कार्य झन्झटिलो हुने भएकोले यस्लाई वडा वडामा नै सञ्चालन गर्नुपर्ने माग गरेतापनि अधिकांश वडाको नामावली संकलन एकै ठाउँमा गर्दा विवाद आउन स्वभाविक भएको पीडितहरुले बताए । थप नामावली संकलन टोलीमा जिम्मेवार पदाधिकारी नहभएको अवस्था, निर्वाचित जनप्रतिनिधि कोही पनि आफ्नो वडाका मतदाताको सहजीकरणका लागि उपस्थित नदेखीएकाले पनि फोटो खिच्ने कार्यबाट धेरै मतदाता फेरी छुट्ने सम्भावना देखिन्छ ।
छुट मतदाताको फोटो खिच्ने कार्यको धरानमा संयोजन गरिरहेका धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले अन्य जिल्लाका नागरिकता भएका छुट मतदाताको नामावली संकलनमा देखिएको समस्याका बारेमा विहीवार टुंगो लाग्ने बताए । यसवारे जिल्ला निर्वाचन कार्यालयमा छलफल चलिरहेको र उक्त छलफलमा कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला सहभागी हुन गएकोले शुक्रवार सम्ममा कसरी कामगर्ने भन्ने टुंगो लाग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।