जनकपुरधाम, १९ साउन ०७४/ प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने बताउनुभएको छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा आज यहाँ आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहाँले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा काँग्रेसले अग्रता लिनैपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थल जस्ता विषय छिट्टै टुङ्ग्याइने जानकारी दिनुभयो ।
उहाँले मधेसको माग सम्बोधनअन्तर्गत थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताउनुभयो । सभापति देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिनुभयो । उहाँले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गर्नुभयो ।