0 COMMENTS

काठमाडौं १९ साउन ०७४/ नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गएराति निधन भएको छ ।विभिन्न रोगसँगै निमोनियाबाट थला परेका ८१ वर्षीय उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको देवघाटमा बस्दै आएका उनको सोही रोगका कारण गएराति १० बजे काठमाडौं महानगरपालिका वडा नं ७ स्थित कालोपुल नजिकै सिफलमा रहेको आफ्नै निवासमा निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी दिए ।

उनका दुई छोरा र दुई छोरी छन् । अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले उनको शुक्रबार काठमाडौँको आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

आचार्य खेमराजको अन्तिम इच्छा देवघाट पुग्ने थियो । सोही इच्छाअनुसार उनलाई भेन्टिलेटर र अक्सिजनसहित हेलिकप्टरमा राखेर २६ दिनअघि देवघाट ल्याइएको थियो । त्यसपछि विस्तारै उनको स्वास्थ्यमा सुधार आएको र भेन्टिलेटर र अक्सिजन छुटाउँदासमेत स्थिर भएको थियो । चितवनको गर्मीले असर गर्न थालेपछि चार दिनअघि उनलाई काठमाडौँ लगिएको थियो ।

मोरङ जिल्लाको लेटाङको जाँतेमा जन्मिएका उनी २०३५ सालदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटमा बस्दै आएका थिए । आचार्य खेमराज केशवशरण संस्कृति वाङ्मय क्षेत्रका आध्यात्मिक व्यक्ति थिए ।

सनातन हिन्दु दर्शनका व्याख्याता उनका तीन दर्जन भन्दा बढी कृति प्रकाशित छन् । रेडियो नेपालमा लामो समय उनले धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।

स्थानीयवासी जगन्नाथ पोखरेलका अनुसार शुरुमा उनले देवघाटमा अन्तर्राष्ट्रिय शरणागति आश्रम खोले । त्यहाँ माध्यमिकस्तरको पढाइसमेत हुन्थ्यो । पछि राधा माधवी मन्दिर बनाए ।

‘उन्नाइस भाषामा प्रवचन दिन्छु भन्नुहुन्थ्यो,’ लक्ष्मीनारायण मन्दिर देवघाटका पुजारी माधवप्रसाद आचार्यले भने, ‘नेपालीसहित अँग्रेजी, संस्कृति, नेवारी, बंगाली, मराठी भाषामा प्रवचन गरेको त हामीले पनि सुन्यौँ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।