पाल्पा, १७ साउन०७४ / पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।
किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन मुस्किल भएको हो ।
वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले किसानलार्इ अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
“मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ, त्यसबाट बचाउन बारीमा एकजना कुरुवा नै बस्नुपर्ने बाध्यता रहेको छ । हुलका हुल बाँदर बारीमा पसेपछि मकैबाली नोक्सान गर्छ, सबै गाउँले मिलेर धपाउने काम गर्छौं”, स्थानीय अमृत परियारले बताउनुभयो ।
मकै भाँचेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ । बाँदरले केही मकै खाने र केही भाँचेर जथाभावी फालिदिने स्थानीय बासिन्दा शिव परियारले बताउनुभयो ।
किसानले बाँदरलाई तीन÷चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउँमा आउने गुनासो किसानको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन् । १०÷१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ ।
खेतबारीमा लगाएको आलु, बन्दा, काउलीलगायतका तरकारी खाने र बाँकि नष्ट गरिदिन थालेपछि यहाँका स्थानीय बासिन्दाले तरकारीखेती गर्न छाडेका छन् । बारीको मात्र होइन, सुलिमको मकैसमेत नष्ट गर्न थालेपछि किसान घरभित्र मकै राख्न बाध्य भएका छन् ।
बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुखेसो छ । वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने झनै बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ ।