0 COMMENTS

काठमाडौं १५ साउन०७४/सजिलो र कम समयमा दाहसंस्कार गरिरहेको विद्युतीय शवदाह गृहका दुवै मेसिन बिग्रँदा दैनिक सरदर २० मृतकका आफन्त मर्कामा परेका छन् । आर्यघाटमा खर्च झन्डै दोब्बर तिरेर पनि तीनदेखि चार घन्टासम्म सास्ती व्यहोर्नुपर्छ भने गृहमा तीन हजार रुपैयाँ खर्च गरेपछि ४५ मिनेटमै अन्त्येष्टि हुन्छ ।

पाशुपत क्षेत्रको आर्यघाटमा आफन्तको अन्तिम संस्कार गर्नेहरूले डेढ वर्षअघि सुरु गरिएको विद्युतीय शवदाह गृहमा तुलनात्मक रूपमा सहजता महसुस गरे पनि मेसिन बिग्रिएकाले फेरि आर्यघाटमै पुग्नुपरेको हो । फाइबर ब्यांकेट, क्यानभास क्लोथजस्ता केही सामान बिग्रिएपछि पशुपति क्षेत्र विकास कोषले असार तेस्रो सातादेखि शवदाह गृह बन्द गरेको हो । भारतको कोलकाताबाट सामान र प्राविधिकसमेत ल्याएर मर्मत गर्नु परेकाले एक महिना लाग्ने कोषको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले विद्युतीय शवदाह गृहमा फेरि सञ्चालनमा आउन अझै एक महिना लाग्ने जानकारी दिए । ‘सञ्चालनमा ल्याउने बेलामा चल्छ कि चल्दैन भन्ने अवस्था थियो तर अहिले अन्त्येष्टि गराउनेको चाप अत्यधिक छु, उनले भने, ‘चाप धेरै छ, तर मेसिन मर्मत हुन सकेको छैन ।

पालैपालो दुईवटा मेसिन चलाए पनि फाइबर ब्यांकेट, क्यानभास क्लोथजस्ता केही सामान बिग्रिएकाले सेवा दिन सकेका छैनौं ।’ भारतको कोलकातास्थित इन्डोम्यान कम्पनीले जडान गरी सञ्चालनमा आएको पशुपतिस्थित विद्युतीय शवदाह गृह बिग्रिएपछि सामान र मर्मतका लागि उसकै भर पर्नुपर्ने अवस्था छ । गृह निर्माणको प्रसंग चलेको दुई दशकपछि ०७२ माघ १० मा सञ्चालनमा आएको हो । यसअघि निर्माणकै क्रममा बाँकी रहेका केही ब्यांकेट र क्लोथ फेरेर कोषले शवदाह गृह सञ्चालन गर्दै आएको थियो ।

देशमा सञ्चालित एक मात्र विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्नेको संख्या बढ्दै गएपछि कोषले गत फागुनबाटै तेस्रो नयाँ मेसिन थप्ने तयारी गरेको थियो । शवदाह गर्न मेसिन अपर्याप्त भएकाले अर्को मेसिन खरिद गरी दैनिक दुईवटा मेसिन सञ्चालन गर्ने गरी कोषले तयारी गरेको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले शवदाह गृह सुरु गर्नुअघि अनेक आशंका भए पनि अहिले वर्ष दिन पुग्दा चाप बढेकाले नयाँ मेसिन थप्न ठेक्का प्रक्रिया अघि बढाएको बताए ।

कोषले करिब ११ करोड रुपैयाँ लगानीमा दुईवटा मेसिनसहित विद्युतीय शवदाह गृह निर्माण गरेको हो । शवदाह गर्ने दुई मेसिन करिब एक करोड २५ लाख रुपैयाँमा ल्याइएको थियो । ुदैनिक सरदर २० शव यहाँ आउँछन् । यसअनुसार मेसिन मर्मत गर्न सकिएको छैनु, निर्देशक उप्रेतीले भने, ‘कोलकाताबाटै सामान र मेकानिक मगाइसकेका छौं, केही सामान प्लेनबाट ल्याउन नमिल्ने भएकाले रेल र भन्सार प्रक्रिया पार गर्नुपर्ने भएकाले अझै एक महिना लाग्छ । तैपनि साउनभित्रै बनाउने प्रयासमा छौं ।’

यसअघि आर्यघाटमा दैनिक बढीमा ४० वटासम्म शवको अन्तिम संस्कार हुने गरेका थिए भने अहिले ती शव बाँडिएका कारण संख्या ह्वात्तै घटेको छ । गत वर्ष माघ १० देखि नियमित सञ्चालित गृहमा हालसम्म करिब ६ हजार शवको अन्तिम संस्कार गरिसकिएको कोषको तथ्यांक छ । कोषले गृहमा एउटा शवदाह गर्न ३ हजार रुपैयाँ लिँदै आएकोमा साउन १ गतेदेखि ४ हजार पुर्‍याएको छ । घाटमा जलाउँदा कम्तीमा ४/५ हजार र बढीमा १०/१२ हजारसम्म लाग्छ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।