0 COMMENTS

काठमाडौं१४साउन०७४/प्रमुख विपक्षी दल एमाले प्रदेश र केन्द्रीय संसद् निर्वाचन एकै दिन गराउन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै चुनाव एकै दिन गर्ने विषयमा निर्वाचन आयोगसँग प्रस्ताव गरेको भोलिपल्टै एमालेले त्यस निम्ति तयार रहेको जनाउ दिएको हो ।

‘हामीले संस्थागत निर्णय गरिसकेका छैनौँ, तर दुवै निर्वाचन एकैचोटि गराउन नसकिने होइन,’ एक साता चीनको तिब्बत भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा शुक्रबार एमाले अध्यक्ष केपी ओलीले सञ्चारकर्मीसँग भने, ‘दुई चरणमा गर्ने हो भने पहिले प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्छ ।’ संविधानको समयसीमाभित्र निर्वाचन सम्पन्न नभए गम्भीर संवैधानिक संकट उत्पन्न हुने भन्दै ओलीले सरकार र निर्वाचन आयोग गम्भीर बन्नुपर्नेमा जोड दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहित आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले समयसीमा कम रहेका कारण प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्दै सुझाब मागेका थिए । जवाफमा प्रमुख आयुक्त यादवले भने त्यसरी अप्ठ्यारो हुने भएकाले पहिले प्रत्यक्ष र समानुपातिकको मतपत्र एउटै कायम गरेर प्रत्यक्षतर्फ खसेको मतलाई नै समानुपातिकतर्फ गणना गर्न सकिने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

‘प्रत्यक्षको मतलाई समानुपातिक मान्न सकिन्छ’
समयसीमा कम हुने हो भने प्रत्यक्षतर्फ खसेको मतलाई समानुपातिकको समेत मतका रूपमा मान्यता दिन एमाले तयार रहेको भन्दै ओलीले धेरै मतपत्रमै चुनाव गराउने, तर एउटै मतपत्रका लागि समय अपुग हुन्छ भन्ने नाममा चुनाव नगराएर संवैधानिक संकट निम्त्याउने कुरा एमालेलाई मान्य नहुने प्रस्ट पारे । ‘एउटा कि दुईवटा मतपत्रमा चुनाव गराउने ठूलो कुरा होइन, त्यो त दल दर्तापछि छाप्न सकिहालिन्छ, एकैपटक गर्दा धेरै मतपत्र हुने हो भने प्रत्यक्षतर्फको मतलाई नै समानुपातिकको मत पनि मान्न सकिन्छ,’ ओलीले भने ।

राजपालाई फेरि चुनावबाहिर राख्ने दाउपेचमा कांग्रेस
कांग्रेसले घुमाइफिराई दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी हुन नदिएको आरोप लगाउँदै ओलीले २ नम्बर प्रदेशको निर्वाचनमा पनि बाहिरै राख्न दाउपेच गरिरहेको बताए । ‘कांग्रेसले दोस्रो चरणमा घुमाइफिराई राजपालाई चुनावमा सहभागी हुन दिएन, अहिले पनि बाहिरै राख्न चाहिरहेको छ, त्यसैले यस्तो दाउपेच नगर्न म आग्रह गर्छु,’ ओलीले भने, ‘यस्ता कुरामा छलछाम गर्ने होइन, देश हितलाई सर्वोपरि राखेर समस्या समाधानको बाटो खोज्नुपर्छ ।’ उनले रूपान्तरित संक्रमणकालीन संसद्ले संविधान संशोधन गर्न नसक्ने र निर्वाचन तयारीका कारण संविधान संशोधनका लागि छलफल गर्ने समय पनि नभएकाले ७ माघपछिको संसद्बाट संविधान संशोधनलाई टुंगो लगाउन एमाले तयार रहेको समेत प्रस्ट पारे ।

चिनियाँ नेतासँग भेटघाट
ओलीले भ्रमणका क्रममा सिगात्से र तिब्बतको ल्हासामा कम्युनिस्ट पार्टी सचिव, जनसरकार प्रमुख, पार्टीका उपप्रमुखलगायतसँग छुट्टाछुट्टै भेटवार्ता भएको जानकारी दिए । त्यसक्रममा केरुङ, तातोपानी, किमाथांका नाका खुलाउने, नेपालमा चीनको लगानी बढाउनेलगायत विषयमा कुराकानी भएको जानकारी दिँदै ओलीले जुनसुकै सरकार भए पनि नेपालमा चीनविरोधी गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध रहने जानकारी गराएका थिए । मानसरोवर भ्रमणका लागि ओली गत शनिबार तिब्बत प्रस्थान गरेका थिए । सात दिने भ्रमण पूरा गरी ओली शुक्रबार स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।