0 COMMENTS

काठमाडौं ११साउन०७४/ मन्त्रिपरिषद विस्तार बुधबार (आज) सत्तारुढ कांग्रेसभित्रै मन्त्रिको नाम नटुङगिदा मंगलबारका लागि तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि मंंगलबार मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयसँग मंगलबार बेलुका ५ बजेको समय लिएको थियो । तर, कांग्रेसका मन्त्रीको नाम निश्चित हुन नसक्दा शपथग्रहण हुन सकेन ।यता माओवादी केन्द्रले भने मन्त्रीहरुको नाम टुङगो लगाइसकेको छ । केन्द्रमा प्रदेश नं. १ बाट शिवकुमार मण्डल आपूर्ति मन्त्रालय, प्रदेश नं. २ का गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्रालय, प्रदेश नं. ३ बाट श्यामकुमार श्रेष्ठ सामान्य प्रशासन मन्त्रालय, प्रदेश नं. ५ बाट सन्तकुमार थारू पशुपक्षी मन्त्रालय, प्रदेश नं. ६ बाट महेन्द्रबहादुर शाही ऊर्जा मन्त्रालय, प्रदेश नं. ६ बाट सीता नेपाली महिला तथा बालबालिका मन्त्रालयमा नाम टुङग्याएको छ ।

कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?
देउवा पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने भएका छन् । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । तर कांग्रेसको भागमा पर्ने १३ मन्त्रालयभौतिक पूर्वाधारमा बलायर र सूचना तथा सञ्चारमा विश्वकर्मा र जोशीको नाम चर्चामा छ । बस्नेतले पाउने मन्त्रालय टुंगिन बाँकी छ । सिटौला पक्षका भीमसेनदास प्रधानलाई सहकारी तथा गरिबी निवारण र खुमबहादुर खड्का पक्षका मोहन बस्नेतलाई युवा तथा खेलकुदमन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षका राजन केसी खानेपानी तथा सरसफाइ र रामकृष्ण यादव सिँचाइमन्त्री बन्दै छन् । सञ्जय गौतम र यज्ञबहादुर थापालाई दिइने मन्त्रालय बुधबार बिहान टुंगो लाग्नेछ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बुधबार बिहान मात्र मन्त्रालय टुंगो लाग्ने जानकारी दिए । ‘पार्टीले लिने मन्त्रालय टुंगो लागिसके पनि को–को मन्त्री बन्ने भन्ने सबै टुंगिएको छैन,’ परियारले भने, ‘बुधबार बिहान टुंग्याएर दिउँसो १ बजे शपथ गर्ने तयारी छ ।

उता लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दै छन् । देव पर्यटन र दहित भूमिसुधारमन्त्री बन्दै छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री छन् ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालयमा मिथिला चौधरीलाई पठाउने भएको छ । वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय तत्काल प्रधानमन्त्रीसँगै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।