0 COMMENTS

रमिला बस्नेत ,सुनसरी,साउन १०/नेपालमा बोलिने भाषाहरु मध्ये पूर्वको संखुवासभा, धनकुटा जिल्लामा प्रचलनमा रहेको याक्खा भाषालाई लेख्य परम्परामा लैजाने अभियान धरानमा शुरु भएको छ । आदिबासी जनजातिका भाषाहरु इतिहासको अनुसन्धान र जैविक विविधताको तथ्य संग अन्यान्योश्रीत रहेकाले विश्वका कुनैपनि आदिबासीका भाषा लोपहुन सम्बद्ध मुलुकको अपूरणीय क्षति मानिने गरिन्छ । नेपालमा भाषा संरक्षणको कुनै सरकारी नीति नभएको मात्र होइन् राज्यले एक भाषााको नीति अपनाएकोले नेपालमा बोलिने कतिपय भाषाहरु लोप हुने अवस्थामा छन् ।

ती भाषा लीपिहरुलाई लेख्य परम्परामा ल्याइएमा भाषाको अस्तित्व जीवन्त रहने भाषा विज्ञहरु बताउँछन् । यसबाट भाषाको वक्ता बढ्ने सम्भावना पनि बढेर जान्छ । यसै अभियानमा याक्खा भाषा लाई लेख्य परम्परामा लैजाने अभियान थालिएको हो । किरात याक्खा छुम्मा केन्द्रीय समितिको आयोजना तथा हिमाली आदिवासी समाज, नेपालको सहयोगमा याक्खा भाषाको संरक्षण तथा लेखन परम्परा बढाउने उद्देश्यबाट धरानमा याक्खा भाषामा वर्ण प्रवद्र्धन तथा लेखन अभ्यास कार्यक्रम सोमबारदेखि आरम्भ गरेको छ । धरान १६ स्थित केन्द्रीय याक्खा छुम्मा कार्यालय भवनमा भइरहेको तथा दुई दिनसम्म चल्ने सो कार्यक्रममा सुनसरी जिल्लाका करिब ७५ जना याक्खाहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा याक्खा छुम्माका केन्द्रीय उपाध्यक्ष लहरु जिमी याक्खाले उक्त कार्यक्रम देशभरिका याक्खा समुदाय रहेका २५ स्थानमा संचालन गर्ने लक्ष्य रहेको जानकारी गराउँदै हाल काठमाण्डौंमा सम्पन्न भइसकेको र धरानमा आयोजना भइरहेको अवगत गराए । छुम्मा सुनसरीका पूर्व अध्यक्ष तथा पत्रकार गोपाल देवानले राज्यको मातृभाषा संरक्षण गर्ने स्पष्ट नीति तथा कार्यक्रम नरहेकोमा दुःख व्यक्त गर्दै याक्खा विस्तारै विलोपउन्मुख भइरहेको बताए । यस्तो अवस्थामा उक्त कार्यक्रमले याक्खा भाषा संरक्षणमा विशेष योगदान दिने बताए ।

प्रशिक्षक तथा याक्खा भाषाविद् मागमान लिंखा याक्खाले याक्खा भाषा भोटबर्मेली भाषा परिवारभित्र पर्ने र यस भाषामा कुल २९ वर्ण रहेको जानकारी दिदै याक्खा भाषाको संरक्षण गर्ने हेतुले त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागले डा. नोबलकिशोर राईको अगुवाईमा भाषिक सर्भेक्षण सम्पन्न गरिसकेको बताए । कुनै पनि भाषा कथ्य अर्थात् बोलीमा मात्र सीमित रहेमा बोल्ने व्यक्तिहरुको मृत्युसँगै भाषा पनि मर्दै जाने हुँदा याक्खा भाषामा लेखन अभ्यास प्रारम्भ गर्न र त्यसका लागि भाषिक सर्भेक्षण र वर्ण प्रवद्र्धन अपरिहार्य रहेको उनको कथन थियो । हालसम्म याक्खा भाषाको अनलाइनसमेत गरी तीन वटा शब्दकोष, एउटा याक्खा शब्द सङ्ग्रह, ओप्च्याङ्मे (जूनकीरी) नामक कविता सङ्ग्रह, तीन वटा गीति एल्बमहरु निस्किसकेका छन् । साथै, हिमाली आदिवासी समाज, नेपालको सहयोगमा याक्खा वर्ण प्रवद्र्धन पुस्तकसमेत प्रकाशन भइसकेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।