0 COMMENTS

काठमाडौँ १०साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार आज गर्ने जनाएका छन्।

देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका हुन्। आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए। दाहालले मन्त्रिपरिषद् विस्तारमा धेरै ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए। पार्टी बैठकमै सरकार सुस्त भएको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको थियो।

माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा भने अझै टुंगो लाग्न सकेको छैन। कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एकएक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ।

पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ। यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ। सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ। प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ-धौ परेको छ।

मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टीभित्रैबाट देउवालाई तीव्र दबाब छ। देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।