0 COMMENTS

महिलाको यौनसन्तुष्टि पुरुषको लिङ्गको आकारमा भन्दा यौन जोडी बीचको प्रेमिल क्रिडामा भर पर्छ । यौन आनन्दमा लिङ्गको आकारले खासै फरक पार्दैन । लिङ्ग जुनसुकै आकारको भए पनि भगांकुरका साथै योनिमार्गको बाहिरतर्फको एकतिहाइ भाग (जी स्पट) मा घर्षण हुँदा महिलाले बढी यौनसन्तुष्टि प्राप्त गर्छन् । स्त्रीमा चरम सुख तीन किसिमका अर्थात् क्लाइटोरल (भगांकुर घर्षण), भेजाइनल (योनिमार्ग घर्षण) र ब्लेन्डेड (मिश्रित) हुन्छन् ।

चरम सन्तुष्टिका बेला महिला मस्तिष्कले अरू केही सोचेकै हुँदैनन् । धेरै महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । हतारमा यौन कार्य, शीघ्र स्खलनसँगै पुरुष लिङ्गको शिथिलता लगायत पुरुष यौन साथीको स्वार्थी प्रवृत्तिका कारण तथा आफ्नो यौनेच्छा र सन्तुष्टि व्यक्त नगर्ने स्वभावका कारण पनि महिलाहरूले पटक–पटक चरम सन्तुष्टि प्राप्त गर्न पाउँदैनन् । महिलाहरूले चरम सुख प्राप्त गर्न नसक्नुमा जैविक कमजोरी वा वंशाणुगत कारण पनि हुनसक्छ ।

पुरुष यौन साथीद्वारा गरिने दमित व्यवहार तथा वैवाहिक अवस्थाको थुप्रै बाध्यताले महिलाहरू आफ्नो इच्छा, चाहना वा सन्तुष्टि व्यक्त गर्न नसक्ने हुन्छन् । एक सर्वेक्षणअनुसार करिब ४३ प्रतिशत महिलाले यौनसन्तुष्टि प्राप्त गर्न नसकेको देखाए पनि यौन क्रियाकलापका क्रममा पाक्क्रीडालाई जोड दिएको खण्डमा यस्तो अवस्थालाई धेरै हदसम्म कम गर्न सकिन्छ । सम्भोगअघि पाक्क्रीडामा पर्याप्त समय दिनुपर्छ ।

चरम सुखको पहिलो चरणमा यौन उत्तेजनासँगै महिलाको अनुहार, छाला तथा शरीरमा रातोपन देखिन्छ भने योनिश्राव बढ्न थाल्छ । दोस्रो चरणमा महिलाको योनि तथा आसपासको क्षेत्रका साथै स्तन एवं मुन्टोमा कडापन आउँछ । यी चरणमा महिलाको मुटु तथा श्वास प्रश्वासको गति बढ्छ । ओठ तथा कानको लोतीमा रक्तप्रवाह वृद्धि भै रातोपन देखिनुका साथै योनिद्वारबाहिरको पत्रमा हल्का नीलोपन आउँछ । पाठेघर अलिकति उचालिन्छ । यी शुरुवाती दुई चरणले निरन्तरता पाएन भने सामान्य अवस्थामा टाउको दुख्ने, जीउ भारी महसुस हुने तथा आराम गर्न मन लाग्ने हुन्छ ।

तेस्रो चरण अर्थात् चरम सुख प्राप्त गर्ने क्रममा महिलाको जनेन्द्रियका विभिन्न भाग खुम्चिने, फुक्ने अनि मुटुको चाल, श्वास–प्रश्वास दर पनि बढ्ने हुन्छ । यो चरणमा केही समयको अन्तरालमा पुरुष र महिला दुवैले चरम सुखको अनुभूति गर्न सक्छन् । कतिपय स्त्रीमा चरम सुखका दौरान पानी जस्तो योनिरस निस्कन्छ । एक अध्ययनअनुसार पुरुषको दाँजोमा महिलाले चार गुणा कम पूर्ण सन्तुष्टिको अनुभव गर्छन् । आफ्नै श्रीमान्लाई पनि आफ्नो यौन अपेक्षा र यौनसन्तुष्टि खुलस्त भन्न नसक्ने हुनाले महिलालाई चरम सुखको स्थितिमा पुग्न तुलनात्मक रूपमा बढी समय लाग्छ । सम्भोगका क्रममा आफ्नो यौन साथीलाई खुसी पार्न, आफ्नो असन्तुष्टि व्यक्त गर्न नसक्दा, यौन कार्य छोट्याउन तथा बाध्यतावश यौनसम्पर्क राख्नुपर्दा महिलाहरूले चरम सुख प्राप्त गरेको नक्कल पार्न सक्छन्, तर पटक पटकको यौन असन्तुष्टिले भविष्यमा यौन चाहना घटने तथा यौन मनोरोग निम्तिने खतरा हुन्छ ।

चौथो चरण अर्थात् पूर्वावस्थाको चरण यौन सोच, यौन उत्तेजनादेखि यौन समागमसम्म यौनाङ्गमा आएका परिवर्तनहरू पूर्ववत् अवस्थामा फर्कन्छन् । हस्तमैथुनमा आंशिक रूपमा यी चरणहरू देखा पर्छन् । चरम सुखको चरणपछि महिलामा यौन उत्तेजना निरन्तर भैरह्यो भने एउटै बसाइमा उनीहरूले पटक–पटक चरम सुखको अनुभूति गर्न सक्छन् । पुरुषमा वीर्य स्खलनपछि अनिवार्य रूपमा केही समयको शिथिलता आउँछ । त्यसैले पुरुषले एउटै यौन प्रतिक्रिया चक्रमा पटक–पटक चरम सुख प्राप्त गर्न सक्दैनन् ।- डा. सुमनराज ताम्राकार(कान्तिपुर साप्ताहिक)

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।