0 COMMENTS

काठमाडौँ १साउन०७४/ मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले आज निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ । विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा आयोजनालाई सम्मान गरिएको हो ।

नेपालको इतिहासमा ऊर्जा उत्पादकलाई सम्मान गरिएको यो नै पहिलो पटक हो । गैरसरकारी क्षेत्रबाट सम्मान पटकपटक भए पनि सरकारी तवरबाटै सम्मान गरेर ऊर्जा उत्पादकलाई आगामी दिनमा थप काम गर्ने उत्साह प्रदान गरिएको भन्दै सम्मानितले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । ऊर्जा उद्यमीलाई राष्ट्रिय योजना आयोगका सदस्य डा अरविन्दकुमार मिश्र, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय विभागका महानिर्देशक नवीनकुमार सिंहले संयुक्तरुपमा खादा ओढाएर सम्मान गरेका थिए ।

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान राज्यले लगानीकर्तालाई सम्मान गर्नुपर्छ भन्ने पुगेकामा खुसी व्यक्त गरे । “मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि राज्यका कुनै पनि निकायले जलविद्युत् उत्पादकलाई यसअघि कहिल्यै नसम्झेको तर विभागको स्थापना दिवसका अवसरमा सम्झनु पनि ठूलो खुशीको विषय हो”– उनले भने, “यस्ता सम्मानले आगामी दिनमा थप आयोजना बनाउन उद्यमीलाई प्रेरित गर्दछ ।”

यस्तै सानिमा माई हाइड्रो पावरका प्रबन्ध निर्देशक डा सुवर्णदास श्रेष्ठ राज्यको तर्फबाट पहिलो पटक सम्मान पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताउनुहुन्छ । “काम गर्दै गएपछि एक न एक दिन राज्यले सम्झन्छ भन्ने पुष्टि भएको र ऊर्जा क्षेत्रको विकासमा थप सहजीकरण गर्ने हो भने एकाध वर्षमा मुलुकले अपेक्षित सफलता हासिल गर्न सक्छ भन्ने प्रष्ट भएको छ ।” यस्तै अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले मुलुकको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशसँगै व्यावसायिक शीप एवं दक्षतामा समेत अभिवृद्धि भएको भन्दै सरकारले कुनै न कुनै रुपमा उद्यमीको हितमा समेत काम गर्नुपर्ने प्रतिक्रिया दिए ।

विद्युत् ऐन, २०४९ अनुसार २०५० साउन १ गते स्थापना भएको विभागले आज स्थापनाको २४ वर्ष पार गरेको छ । सोही ऐन कार्यान्वयनमा आएपछि मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई खिम्ती जलविद्युत् आयोजनाले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा ल्याएपछि मुलुकमा निजी क्षेत्रले पनि जलविद्युत् परियोजना निर्माण गर्न सक्छ भन्ने स्थापित भएको सन्दर्भमा आज गरिएको सम्मान सरकारी तथा निजी क्षेत्रकै सम्मान भएको बताए । उनेले जलविद्युत्को क्षेत्रमा प्राधिकरण र निजी क्षेत्रको उत्पादन हाराहारीमा नै पुग्न लागेका र यसले प्रतिस्पर्धी क्षमताको समेत विकास गरेको जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी ऊर्जा उद्यमीका रुपमा प्राधिकरण पनि सम्मानित हुँदा स्वभाविक रुमपा खुशी लागेको बताए । मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको अवधिमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनार तिनका प्रवद्र्धकलाई सम्मान गरेर उनीहरुको लगानी र योगदानको समेत सम्मान गरिएको विभागका महानिर्देशक नवीनराज सिंहको भनाइ छ । उनले विभागले दु्रतरुपमा जलविद्युत् आयोजनाको विकासमा सहयोग पु¥याएको, नीतिगत सहजीकरण गरेको र आवेदन दिएको एकाध दिनमा नै सबै काम सकाउने गरी कार्यविधि बनाएर काम गरेका कारण आशातीत सफलता हासिल गरेको बताए ।

साना आयोजनाको अध्ययन गर्नेतर्फ विभागले ध्यान नदिएको भन्दै उहाँले मझौला र जलाशययुक्त आयोजनाको विकास नै मुलुकको प्रमुख आधार होे भन्नेमा आफूहरु स्पष्ट रहेको जानकारी दिए । ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्ने गरी सरकारले विभाग स्थापना गरेको हो । विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पुर्याएकाे छ भने १०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ । विभागले हालसम्म कुल १३७ आयोजनाबाट तीन हजार ६८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

विसं २०५० पछि मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो । हाल निजी क्षेत्रले कुल ५८ वटा आयोजनाबाट ४४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करिब ४६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । कार्यक्रममा ऊर्जा सचिव उपाध्यायले राजनीतिक नेतृत्वले अगाडि सारेका केही प्रभावकारी कार्ययोजनाका आधारमा मन्त्रालयले मुलुकको ऊर्जा क्षेत्रको विकासमा सफलता हासिल गर्दै गएको र आगामी वर्षमा उल्लेख्य उपलब्धि हासिल गर्ने बताए ।

यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा मिश्रले जलविद्युत्, सौर्य तथा ऊर्जाका अन्य स्रोतको सम्मिश्रणबाट मुलुकलाई समृद्ध बनाउने योजनामा सरकार क्रियाशील रहेको बताए । उनेले समन्वयको अभावमा हरेक क्षेत्रमा प्रभावकारी काम हुन नसकेको अनुभवलाई ज्ञानको रुपमा लिएर आगामी दिनमा संयुक्त कार्ययोजनाका साथ काम गरिने स्पष्ट पारे । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।