0 COMMENTS
विवेक विनयी

संवृद्ध मधेष बनाउने जिम्मा राज्यको हो । सबै नेताको हो । मधेषी जनता हाम्रा दाजुभाइ, दिदीवहिनी र आमाबुबा हुन । हामी एउटै नेपाली हौं । त्यहाँको जस्तो समस्य र अवसर देशभर छन् । तथापि पछिल्लो समय मधेषका केही नेता र दलले आफु नै मधेषको मसिहा भनिरहेको परिप्रेक्ष्यमा केही शब्द कोर्न मन लागेर कलम समातेको छु ।

प्रदेश नं. २ को स्थानीय चुनाव हुन अगाडि संविधान संशोधन हुनुपर्छ भनेर खासगरी राजपाले अल्टीमेटम दिएको छ । उसले अन्यथा आफूहरु आन्दोलनमा जाने उद्घोष गरेका छन् । तर, जनता भने चुनावको व्यग्र प्रतिक्षामा छन् । उनीहरुलाई संशोधन भन्ने कुरासँग खास मतलब भएको देखिन्न । जनताको चहना एकतातिर र केही मधेसी दलको चाहना अर्काे तर्फ । अब के होला सबैको जिज्ञासा छ । यसै सन्दर्भमा मलाई राजपाको बारेमा केही कुराहरु कोट्याउन मन लागेको छ ।

मधेस आन्दोलन पश्चात मधेषको नाम जोडेर विभिन्न मुद्धाहरु उठाउँदै केही राजनीतिक दल अस्तित्वमा आए जसलाई म राजनीतिक दल मान्दिन । मैले उनीहरुलाई लामो समयदेखि नियाली रहेको छु । कुनै कोणबाट पनि उनीहरुमा राजनीतिक दलको गुण देख्दीन । झन, केही समय अगाडि ६ वटा मधेषका दलहरु एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टी भनिने त अचम्म लाग्दो छ ।

के यो साच्चै राजनीतिक दल हो त ? किन मेरो लागि यि दल होइनन ?

मलाई त मधेसबाट उठेको राजपा लगायतका राजनीतिक दल, दल होइन फुटबल क्लब जस्तो लाग्छ । किन ? जसरी प्रायोजक र कोच विना क्लब चल्दैन ठिक उस्तै छ राजपाको पनि हाल । उसको पनि पछाडि प्रायोजक र कोच प्रष्टै देखिन्छ । जसको भूमिका भारतले खेली रहेको घाम झैं छर्लङ्ग छ । यो विना उसले आफ्नो अस्तित्व जोगाउन नसक्ने निश्चित प्राय छ ।

जसरी अब कसरी खेल्ने भनेर खेलाडीहरुले कोचलाई सोध्छन ठिक उसै गरी राजपाका नेताहरु पनि लावालस्कार लागेर भारतीय दुतावासमा अब कसरी खेल्ने हजुर भन्दै जम्लाहात गर्दै राजदुत महोदयलाई सोध्न पुग्छन् । कैले विहान, कैले दिउँसो, कैले वेलुकी । सोध्या सोध्यै । केही पर्यो कि दौडिगयो । त्यहाँबाट कोचले जस्तो निर्देशन दिन्छन् उस्तै गरी खेल्छन ।

के यस्तै हुन्छ राजनीतिक दल ? आफ्नो घरको माग, मुद्धा मिलाउन छिमेकीको इशारा चाहिने ? आफु सक्षम छैन भन्ने लाग्नेले किन अघि सर्नु ? किन मै हुँ भन्दै ढोल पिट्नु ? जब इतिश्री अर्काकै भर्नु पर्नु पर्ने भए यो घिसिपिटिको राजनीति किन गर्नु र ? के छ वाध्यता ? के दुनियाँमा यसै गर्छन त राजनीतिक दलले ? यस्तै हुन्छन त राजनीतिक दल ? बुझाउनु पर्यो महोदय ।
मैले बुझेको राजनीतिक दल त समग्र देश र जनताको हितार्थ एक निश्चित सिद्धान्तलाई मियो बनाएर आपसी छलफल, अध्ययन, अनुसन्धान, सहकार्य र व्यवहारबाट निर्देशीत हुन्छन । उनीहरु देश र जनताको भलाईको लागि आफ्नो दलको सिद्धान्तको नौकामा सवार हुन्छन् र पो देश विकास हुन्छ । जनता संवृद्ध हुन्छन् ।

के राजपाका नेताहरुले त्यसो गरिरहेका छन् त ? उनीहरु कतिपल्ट दुतावास र दिल्ली धाइरहेका छन् डाटा सबैसँग सुरक्षीत छ । अनि राजपा कसरी दल भयो ? यो ठया्ककै फुटवल क्लब भएन र ? प्रायोजक र कोच विना फुटबल क्लबको कल्पना गर्न सकिन्न । ठिक उस्तै अवस्था त राजपाको ? गन्तव्य थाहा नभएको यात्री हुन राजपाका नेताहरु । यस्तो दल र नेताबाट मधेष बन्ने होइन दिनप्रतिदिन विग्रने छ । अगाडि होइन पछाडि धकेलिने छ ।

सच्चा राजनीतिक दललाई त देश र जनताको इस्यूले खुब छुन्छ । खोइ राजपालाई त्यसले छोएको ? यतिखेर तराइ जलमग्न छ । जनताको गाँस, वाँस, कपासको सर्वनास भएको छ । केटाकेटी, महिला र वुढावुढीको कन्त विजोक भएको छ । यस्तो अवस्थामा आफुलाई मधेसको ठेकेदार भन्ने राजपा र अन्य मधेसी दलका नेताहरु खोइ त पुगेको ? उनीहरुको साथमा खोइ त उभिएको ? भारतले जर्बजस्ती एकतर्फी वाँध बनाएर मधेसी जनताको सर्वनास गर्दा पनि उसैको पाउ मोल्नु दुखदायी छ ।

त्यतिमात्र नभएर मधेसमा, खासगरी सिमनाका जनताले धेरै दुख पाएका छन् । अशिक्षा त्यँही छ । विहेवारीमा दाइजोको कुप्रथा त्यही छ । वोक्सीको आरोपमा प्रताडित महिला त्यही छन् । पारीपाट आएका लुटेराहरुको त्रास त्यँही छ । वलत्कार त्यहीँ छन् । यस्ता अनगिन्ती कुरीति विरुद्ध संवृद्ध मधेसको नारा लिएर खोइन कुन चाँहि नेता त्यहाँ पुगे ? आफुलाई मधेसको मसिया ठान्नेले त कम्तिमा २—४ वटा त देखिने गरी काम गर्नुपर्यो नि त । खोइ त? अनि यस्ता राजनीतिक दल हुन त ? यि नेता हुन त ? यि मधेषका मसिहा हुन त ?

जनताले चुनाव चाहेका छन । भर्खरै सम्पन्न चुनावले पनि त्यसलाई पुष्टि गरिसकेको छ । केही नेताहरुलाई संविधानका केही कुराहरु मन परेन भन्दैमा जनताको चाहना विपरीत जान मिल्छ ? मधेषका समस्य होलान तर विधि सम्वत तवरले जानुपर्यो नि ? जब जनता नै चुनाव चाहन्छन भने त्यसलाई रोक्ने को हुन उनीहरु ?

मलाई त अचम्म लाग्छ कि देशले यस्ता क्लबलाई किन मान्यता दिन्छ ? यिनीहरु त भाग्य वस ए डिभिजन खेल्ने अवसर पाएका क्लबहरु हुन । खेल्ने क्षमता नभएको कारण तलतिर खस्दैछन् । छिट्टै यिनीहरु रेलिगेसनमा पर्नेछन् र सकिने छन् । यस्तो क्लबसँग डराए हुन्न । तीन करोड जनताले हेरर वसेका छन् । देशको वागडोर समाल्नेहरु मुटु बलियो बनाएर अघि बढ्नुपर्छ । नत्र भने यो सुन्दर देश र जनताको भविष्यलाई मामुली क्लवले नियन्त्रणमा राख्ने खतर हुन सक्छ । समग्रदेशलाई एकता र विकासको डोरोले जोड्दै प्रायोजक र कोचको भरमा टाउको उठाएका क्लबलाई सदाको लागि शान्तिपूर्ण तवरले निर्मल पार्नुपर्छ । अन्यथा दाँतको कापमा फसेको सानो टुक्रो हड्डीले झैं यिनले दुख दिने छन् । वेलैमा चेतना भया ।

विवेक विनयी
इलाम, सुनपा—५

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।