0 COMMENTS

 दाङ २८ असार २०७४/तुलसीपुर उपमहानगरपालिका–५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सोमबार बेलुका तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

घटनाका मुख्य अभियुक्त सल्यान झिम्पे कोरबाङ–५ घर भई हाल दाङको हेकुली–६ बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर–४ घर भई हाल तुलसीपुर–६ स्याउलीबजार बस्ने ३९ वर्षीय टीकाराम घर्ती र उनकी छोरी १८ वर्षीया पूजा घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बाँकेको डुरुवा गाउँपालिका–६ स्थित नेपाल–भारतको सिमानामा पर्ने हिरमिनियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । यसैगरी उक्त घटनाका मुख्य योजनाकारहरू तुलसीपुर उपमहानगरपालिका–८ का २८ वर्षीय भूपेन्द्र भण्डारी र सोही उपनपा–९ बेलुवा शिवज्योतिका ४१ वर्षीय नारायण ओलीलाई तुलसीपुर र तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो । विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी सिंहले बताए । जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए । पक्राउ परेकाहरूले श्रेष्ठसँगै अपहरणमा परेका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्तीको पनि हत्या गरेको स्वीकार गरेको एसपी सिंहले बताए । यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहको संयोजकत्वमा एसपी वीरेन्द्र बस्याल, डीएसपी भुवनेश्वर तिवारी र प्रहरी निरीक्षक नरेन्द्र सलामी सदस्य रहेको समिति गठन गरेको थियो। कान्तीपुर 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।