काठमाडौं २७ असार०७४/ दोस्रो चरणको स्थानीय चुनावमा बम हातले टिपेर फालेपछि चर्चामा आएका हवल्दार दुर्गाबहादुर रानाले गृहमन्त्री जनार्दन शर्मासँग भेटेका छन् ।
गृहमन्त्रीलाई भेट्न हवल्दार राना आज गृह मन्त्रालयमै पुगेका हुन् । भेटमा गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिए । ‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भने ।
हव्लदार रानाले असार १४ गते स्थानीय तहको दोस्रो चरणको चुनावका क्रममा दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका थिए ।
१५ सयको खण्डन
यसैबिच गृहमन्त्री शर्माले आफूले हवल्दार रानालाई १५सय पुरस्कार दिएको कुरा हल्ला मात्र भएको भन्दै खण्डन गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा आफ्नो कुरा लेख्दै भनेका छन्, ‘ नेपाल प्रहरीका हवल्दार दुर्गाबहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’