0 COMMENTS

काठमाडौं २६ असार०२६/झन्डै दुई वर्षदेखि एक अर्काबीच ‘शत्रुतापूर्ण’ व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र ‘सकारात्मक’ वार्ता भएको छ।संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस-माओवादी केन्द्र) पनि आफ्ना मागप्रति संवेदनशील नदेखिएको विश्लेषणसाथ एमालेसँग सम्बन्ध सुधारमा लागेको जनाएको छ ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएका छन् । छलफलमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल, युवा नेताद्वय रवीन्द्र अधिकारी र डा.राजन भट्टराई तथा राजपाका नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र मनीष सुमन सहभागी हुनुहुन्छ । ‘वार्ता निकै सकारात्मक भएको छ,’ वार्तामा सहभागी एमालेका एक नेताले भन्नुभयो । आजको अन्नपूर्ं पोस्टमा खबर छ ।

स्थानीय तह निर्वाचनबाट एमाले पहिलो पार्टी बनेकाले पहिलो दलसँग तिक्ततापूर्ण नभई सम्बन्ध सुधार गरी अघि बढ्नुपर्ने छिमेकी भारतको सत्तापक्षको दृष्टिकोणमा आएको परिवर्तनपछि नै राजपाका नेताहरू एमालेसँग सम्बन्ध सुधारमा लागेको राजनीतिक विश्लेषक बताउँछन् । एमालेको सहयोगविना संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुनसक्ने अवस्था नरहेकाले पनि एमालेको सहयोगका लागि राजपाका नेताहरूले आग्रह गरिरहेको एमाले नेताहरूले बताएका छन् ।

‘पछिल्लोपटक राजपाका विभिन्न नेतासँग हाम्रो पार्टीका विभिन्न नेताको संवाद भइरहेको छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो, ‘उहाँहरू (राजपा नेता) ले संविधान संशोधनमा एमालेको सहयोग चाहियो भनिरहनुभएको छ । कसरी अघि बढ्ने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ ।’ सत्तापक्षले केही दिनभित्रै संसद्मा संशोधन प्रस्ताव पेस गर्ने बताइरहेका बेला प्रमुख विपक्षी एमालेसँग राजपाका नेताले छलफल गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकार र हाल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै पक्ष एकैसाथ बसेर संशोधन विधेयकबारे छलफल गर्ने वातावरण नबनाएको भन्दै एमालेले पनि आपत्ति जनाउँदै आएको छ ।

‘अघिल्लो सरकारले संविधान संशोधन किन र केका लागि भन्दै प्रमुख विपक्षी एमालेसहित मधेसकेन्द्रित दललाई एक ठाउँ राखेर कहिल्यै पनि छलफल गर्न चाहेन,’ एमाले प्रमुख सचेतक ढकालले भन्नुभयो, ‘एमालेलाई मधेसविरोधी भनेर गलत हल्ला फिँजाउँदै सत्तापक्षले आफ्नो स्वार्थ मात्र पूरा गर्ने काम गर्‍यो । सत्तापक्षको गलत नियतलाई राजपाका नेताहरूले अहिले आएर छर्लंग बुझ्नुभयो भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।