0 COMMENTS

विराटनगर२६ असार०७४ / कांग्रेसले ‘अभूतपूर्व’ एकता प्रदर्शन गर्दै विराटनगर महानगरमा आफ्नो जित सुनिश्चित निकालेको छ । कांग्रेस राज नीतिको उद्गम मानिने विराटनगरमा ‘कांग्रेसजनबाटै कांग्रेसलाई खतरा रहेको’ विश्लेषण गरिएको थियो । तर पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अन्य महानगरमा खेपेको हारको पीडाबोधलाई विराटनगरको जितले थोरै भए पनि मलमपट्टी गरिदिएको छ । ‘पार्टीभित्रको गुटगत राजनीतिक दम्भको अहंकार’ बोकेका खेमा एउटै जुइनोमा कस्सिएर चुनाव नलडे हार्ने तथ्य बुझेका कांग्रेसजन ‘फुटेर नभई जुटेर’ चुनावमा भिडे । यसैको बलमा विराटनगरमा स्थानीय चुनावमा गुमेको ‘कुर्सी’ २० वर्षपछि कांग्रेसकै हातमा आइपुगेको छ । मेयर र उमेयरमा कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की (इन्दु) विजयी हुनुभएको छ ।

पहिलो स्थानीय निकायको निर्वाचनमा अशोक कोइरालाले जिते पनि २०५४ मा एमालेका रमेशचन्द्र पौडेलसँग कांग्रेसका अमृत अर्यालले हार बेहोर्नु परेको थियो । यो पटक पनि मेयर पदमा निकै दह्रो आकांक्षीका रूपमा हेरिएका अर्यालको साटो पराजुलीलाई उठाएर ‘कोइराला निवास’ र उसकै ‘छत्रछायाँमा हुर्केका’ नेता महेश आचार्य र मिनेन्द्र रिजालले पनि विराटनगरको विजयलाई आत्मसम्मानसँग जोडेर हेर्नुभयो । निवासका प्रतिनिधि डा. शेखर कोइराला त पहिलेदेखि सक्रिय नै हुनुहुन्थ्यो । भीम पराजुली र इन्दिरा कार्कीलाई ‘जस्तोसुकै अवस्थामा’ पनि जिताउन पार्टीको संस्थापनलाई पनि निकै दबाब पर्‍यो । 

‘विराटनगरमा हारे त्यसको सन्देश नकारात्मक रूपमा देशव्यापी जानेछ भन्ने बुझेरै पार्टी अध्यक्ष शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई आफ्नो ‘दूत’ बनाएर पठाउनुभयो’, कांग्रेसका एक जिल्लास्तरका नेताले भने, ‘टिकट नपाएको झोक र रिस साँध्न विभिन्न समूहले खेल्ने खेललाई निधिले नै थामथुम पार्नुभयो ।’ एक साता विराटनगर बस्नुभएका नेता निधिले चित्त नबुझाएका समूहसँग आफैं छलफल गर्नुभएको र सबैको मेहनतको बलमा निकै फराकिलो (५७१०) मतअन्तरले एमालेका विनोद ढकाललाई पराजित गर्न सफल भएको ती नेताले बताए ।

तालमेल र गठबन्धन गरेर चुनावी बाटो रोजेका माअ‍ेवादी केन्द्र र संघीय समाजवादी फोरम, एमाले र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार कांग्रेससँग फराकिलो मताअन्तरले पराजित भए । तालमेल गरेका दललाई फाइदा भन्दा ‘पार्टीभित्रै आन्तरिक दबाब’ र ‘चुनावी बेफाइदा’ मात्र भयो । चुनावी आत्मसमीक्षा भइरहँदा एमालेलाई नै सबैभन्दा धेरै झट्का लाग्यो । ओली पक्षका विनोद ढकालको ‘जिल्ला नेतृत्वमा बढ्दो मनोमालिन्य’ रोकेर ‘साइजमा ल्याउन’ नेपाल खेमाले गरेको असहयोग ढकालको हारको कारण बन्यो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।