0 COMMENTS

बेसीसहर १४ असार०७४/ विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको खबर आजको गोरखापत्रमा छापिएको छ ।

वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ । वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो । वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ ।

‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भने ।

विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ। जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ ।

यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ ।

विगतमा लोड कम गराउन लमजुङका साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई गोरखा र तनहुँको खैरैनी, डुम्रे क्षेत्रमा पठाउने गरेकोमा हाल गोरखामा दरौदी आयोजनाको उत्पादन सुरु भएपछि लोड कम गराउन नसकिएको न्यौपानेले बताए ।

दमौलीस्थित विद्युत् प्राधिकरणको सव–स्टेसनमा जडान गरिएको दुई सय एम्पिएर क्षमताको सिटी (करेन्ट ट्रान्सफर्मर)को क्षमता कम भएकाले लोड धान्न नसकेर लाइन जाने आउने भएको न्यौपाने बताउँछन् । उनका अनुसार सिटीको क्षमता बढाएर चार सय एम्पिएर बनाउन आवश्यक रहेको छ । प्रमुख न्यौपानेका अनुसार दमौलीमा बढी क्षमताको सिटी नराख्दासम्म साना आयोजनालाई कम विद्युत् उत्पादनका लागि अनुरोध गरिएको छ ।

जिल्लामा उत्पादित सबै विद्युत् लैजानका लागि निर्माण थालिएको १३२ केभी क्षमताको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किट नबन्दा उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर नागरिकले सास्ती खेपेका छन् । समयमा डबल सर्किटको निर्माण कार्य नहुँदा जिल्लाका सबै जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन नपाएको प्रवद्र्धकहरूको भनाइ छ । अहिले सिङ्गल सर्किटबाट १२० मेगावाट मात्रै विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।