0 COMMENTS

काठमाडौँ१२असार०७४/  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज देश भरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइ रहेका छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिए ।

“बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु भएको छ, यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो” – उनले भने ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

यस पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । जेठ १३ गतेदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो व्रत गरिने मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलिले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो ।यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।