0 COMMENTS

काठमाडौं ३ असार ०७४/ नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको सेयर बिक्री गर्ने मोडालिटीको अध्ययन सुरु गरेकोे छ । नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्स्चेन्ज खोल्न दिने सैद्धान्तिक सहमतिमा असन्तुष्टि जनाउँदै नेप्सेको ३४ दशमलव ६० प्रतिशत सेयर बिक्री गर्न राष्ट्र बैंकले अध्ययन थालेको हो । राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले हालको अवस्थामा नयाँ स्टक एक्स्चेन्जको आवश्यकता नभएको बताउँदै आएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

यसै क्रममा बुधबार गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई राष्ट्र बैंकमा कार्यालयमा बोलाएर छलफल गरेका थिए । नयाँ स्टक एक्स्चेन्ज थप्ने निर्णयबाट असन्तुष्ट भएको राष्ट्र बैंकले आफ्नो सेयर कतिमा र कसरी बिक्री गर्ने भन्ने अध्ययन सुरु गरेको हो । यद्यपि, गभर्नर डा.नेपालले बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा समेत नेप्सेमा रहेको बैंकको सेयर छिटै निजीक्षेत्रलाई बेच्ने बताएका थिए । हालसम्म नेप्सेमा सरकारको ५८ दशमलव ६६, राष्ट्र बैंकको ३४ दशमलव ६०, एनआईडीसीको ६ दशमलव १२ र ब्रोकरको शून्य दशमलव ६२ प्रतिशत सेयर अंश छ ।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई थप प्रतिस्पर्धी प्रभावकारी बनाउन निजी क्षेत्रलाई पनि स्टक एक्स्चेन्ज खोल्न अनुमति दिने निर्णय गरेको छ । करिब एक महिनाअघि बसेको बोर्ड सञ्चालक समिति बैठकले नयाँ स्टक एक्स्चेन्ज खोल्न दिने अनुमति दिएको हो । हाल सञ्चालनमा रहेको सरकारी स्वामित्वको नेपाल स्टक एक्स्चेन्ज नयाँ प्रविधि र अन्तर्राष्ट्रिय स्तरको हुन नसकेकोले कर्पोरेट मोडलको एक्स्चेन्ज थप्न लागिएको बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले बताए ।

‘निजी क्षेत्रको लगानीमा एउटा नयाँ स्टक एक्स्चेन्ज थप्ने नीतिगत तथा सैद्धान्तिक सहमति भएको छु, कार्कीले भने, ‘बजार अनुसन्धान गरेर नेप्से थप्ने प्रक्रिया अघि सारिएको हो ।’ नेपालको अर्थतन्त्रको र बढ्दो पुँजी बजारको आकार अनुसार पनि थप एउटा स्टक एक्स्चेन्ज आवश्यक भएको उनले बताए । धितोपत्र बोर्ड आईएससीओको सदस्य भएको नाताले पनि प्रतिस्पर्धी स्टक एक्स्चेन्ज आवश्यक रहेको बोर्डको भनाइ छ । बोर्डले नयाँ स्टक एक्स्चेन्ज थप्ने निर्णय गर पनि कुन आधारमा कसरी वा कसलाई दिने विषयमा भने कुनै निर्णय गरेको छैन । पुराना आवेदकलाई नै दिने कि नयाँ आह्वान गर्ने भन्नेमा निश्चित भएको बोर्डका प्रवक्ता निरन्जन गिरीले बताए ।

६ वर्ष पहिले तत्कालीन बोर्ड अध्यक्ष डा।सुरवीर पौडेलले पनि निजी क्षेत्रको स्टक एक्स्चेन्ज थप्ने पहल गरेका थिए । तर, त्यति बेला नयाँ कम्पनी खोल्न दिने निर्णय हुन सकेन । हामीले उहाँहरूसँग योजना वा सञ्चालन मोडालिटी मागिरहेको गिरीले बताए । धितोपत्र बजार सञ्चालन नियमावली २०६४ अनुसार चार कम्पनीले स्टक एक्स्चेन्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका थिए । काठमाडौं स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज, हिमालय स्टक एक्स्चेन्ज र डेरिभेटिभ एन्ड कमोडिटी स्टक एक्स्चेन्जले त्यति बेला नयाँ स्टक खोल्ने अनुमतिका लागि आवेदन दिएका थिए । ती चार कम्पनीमा वाणिज्य बैंक, बिमा कम्पनी तथा मर्चेन्ट बैंकर गरी कुल ३७ कम्पनीको लगानी छ ।

नयाँ प्रविधियुक्त स्टक एक्स्चेन्ज नहुँदा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा बन्ड जारी गर्ने तयारी गरे पनि सो कार्य गर्न सकिरहेका छैनन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पुँजी बजारको वर्तमान पूर्वाधारलाई हेरर बन्ड जारी गर्ने/नगर्ने गरेको छ । त्यस कारणले पनि यस्ता मौद्रिक उपकरणको प्रयोगलाई कार्यान्वयनमा ल्याउनका लागि प्रविधियुक्त नयाँ स्टकको खाँचो भएको तर्क बोर्डले अघि सारेको छ । नयाँ स्टक ल्याउन सके विदेशी बजारमा जस्तै नेपालमा पनि बन्ड मार्केटको विकास गर्न सकिने बताइएको छ ।

हालको नेप्सेको कारोबार प्रणालीमा सेमीअटोमेटेड भनिए पनि सरकारी ऋणपत्र तथा बन्डको कारोबार भने म्यानुअलमा नै हुने गरेको छ । नयाँ स्टक एक्स्चेन्ज आएमा सेयर लगानीकर्ताको लागत घट्नुका साथै सेवामा गुणस्तर आउने विज्ञको भनाइ छ । इन्फोनयाँ स्टक एक्स्चेन्ज थप्ने निर्णयबाट असन्तुष्ट भएको राष्ट्र बैंकले आफ्नो सेयर कतिमा र कसरी बिक्री गर्ने भन्ने अध्ययन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।