0 COMMENTS

भरतपुर ३, असार०७४ / कुखुराको चल्ला र अन्डाको मूल्य वृद्धि भएपछि जिल्लाका पोल्ट्री व्यवसायी खुसी भएका छन् । साबिकको मूल्यमा ५० प्रतिशत मूल्य वृद्धि भएपछि व्यवसायी खुसी भएका हुन् । चल्लाको उत्पादन धेरै हुनाले बजार नपाएको भन्दै चिन्तामा रहेका व्यवसायी अहिले चल्लाको बिक्री मूल्य राम्रो पाएकोमा दंग छन्।

‘चार महिना अगाडिसम्म बजार राम्रो थिएन । अहिले सोचेभन्दा राम्रो छ’ नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्री भन्नुहुन्छ, ‘प्रतिगोटा ५० रुपैयाँ पनि नपाएको समय थियो तर अहिले ७५ देखि ८० रुपैयाँ पाइएको छ । यो मूल्य नराम्रो होइन । चल्ला उत्पादनकर्तालाई अहिलेको समय राम्रो छ ।’ चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगका सञ्चालक खत्रीले गतवर्षको माघ महिनादेखि चल्लाको मूल्यमा सुधार आएको बताउनुभयो । ‘कुखुरा पाल्ने किसानको संख्या वृद्धि हुँदै गएकाले अहिले चल्लाको माग बढेको छ’, उहाँ भन्नुहुन्छ, ‘चितवन, मकवानपुर, नवलपरासीसहित काठमाडौंलगायत क्षेत्रमा चल्लाको मूल्य बढेको छ ।’

चल्लाको माग हरेक दिन वृद्धि भइरहेको दिव्य ह्याचरी प्रालिका सञ्चालक टिकाराम पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार, ब्रोइलर र लेयर्स दुबैखाले चल्लाको मागमा वृद्धि भएको छ । ब्रोइलर चल्लाको मूल्य अहिले प्रतिचल्ला ७५ देखि ८० रुपैयाँ पुगेको छ । लेयर्सको मूल्य प्रतिचल्ला एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ । ‘यो मूल्य राम्रो हो’, पोखरेलले भन्नुभयो, ‘चल्ला पाउन मुश्किल छ । चितवन जिल्लामा उत्पादन भएको चल्लाको माग अहिले देशैभर छ । माग अनुसार चल्ला आपूर्ति गर्न व्यवसायीले मेहनेत गरेका छन् ।’

चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगका लागि अहिलको समय धेरै राम्रो भएको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउनुहुन्छ । ‘चल्लाको मूल्य प्रतिगोटा १० रुपैयाँमा समेत व्यवसायीले बिक्री गर्नु परेको समयबाट अहिले ८० रुपैयाँ पाउनु भनेको धेरै राम्रो हो’, उहाँले भन्नुभयो, ‘चल्लाको मूल्य धेरै समय ६० रुपैयाँ प्रतिगोटा थियो । प्रतिगोटा चल्लाको लागत ५५ रुपैयाँ पर्ने गरेको छ । अहिले ८० रुपैयाँमा बिक्री गर्दा उद्योगीको लागि राम्रो हो ।’
कार्यकारी अधिकृत बरालका अनुसार देशभर अहिले दैनिक ३० लाख अन्डा उत्पादन हुने गरेको छ । चितवन जिल्लामा मात्रै दैनिक १० लाख अन्डा उत्पादन हुने गरेको छ ।

जिल्लामा उत्पादन भएको अन्डा २० प्रतिशतमात्रै स्थानीय बजारमा बिक्री हुने गरेको छ । अन्डाको मूल्य अहिले किसानले प्रतिक्रेट (३० गोटा) तीन सय ६५ रूपैयाँ पाएका छन् । यसअघि अन्डाको मूल्य धेरै समयसम्म प्रतिक्रेट दुई सय ८० देखि तीन सय २० रूपैयाँसम्म रहेको थियो । अन्डाको लागत मूल्य नौ रुपैयाँ ५० पैसा रहेको र वर्तमान बजार मूल्यले उत्पादन लागतमा प्रतिगोटा दुई रुपैयाँ ५० पैसा नाफा हुने नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउनुहुन्छ । दुई वर्षअघि भूकम्प र गतवर्ष नाकाबन्दीले थला परेको पोल्ट्री व्यवसाय अहिले विस्तारै तंग्रिन उहाँले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।