0 COMMENTS

काठमाडौं ३० जेठ २०७४/ निजी दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले आगामी साउन १५ देखि फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमतिपत्र प्राप्त गरेको स्मार्टले निर्धारित अवधिमा सेवा शुरू गर्ने गरी तयारी थालेको हो ।

कम्पनीका प्रमुख प्रशासनिक अधिकृत सविन श्रेष्ठका अनुसार उक्त सेवाको शुरुआत काठमाडौंबाट गर्न लागिएको हो । प्राधिकरणबाट स्वीकृत भएको ‘रोलआउट प्लान’अनुसार आगामी असोजसम्ममा पोखरा, चितवन र वीरगञ्जमा पनि सेवा विस्तार गर्नेछ । त्यसपछि विराटनगर, भैरहवा, बुटवललगायत ठूला शहरमा फोरजी पुर्याउने कम्पनीको योजना रहेको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

स्मार्टको फोरजी सेवा १८ सय ब्याण्डमा रहने छ, जसमा हाल कम्पनीसग १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । त्यसमध्ये ५ मेगाहर्जमा फोरजी शुरू गर्नेगरी रोलआउट प्लान स्वीकृत भएको प्राधिकरणका उपनिर्देशक विजयकुमार रोयले जानकारी दिए । स्मार्टले पश्चिमाञ्चलबाट सेवा शुरू गरेको थियो । हाल ४५ भन्दा बढी जिल्लामा नेटवर्क विस्तार भइसकेको दाबी कम्पनीको छ ।

कम्पनीले प्राधिकरणसँग आगामी पुससम्ममा पूर्व–पश्चिम राजमार्गले जोडिएका जिल्लामा नेटवर्क विस्तार गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार हाल कम्पनीले १४ लाख ९३ हजार ९ सय २२ ग्राहकलाई टेलिफोन र १ लाख २० हजार २ सय २८ जनालाई मोबाइल इण्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

करीब १७ करोड बक्यौता
उक्त कम्पनीले चालू आर्थिक वर्षको फ्रिक्वेन्सीबापत बुझाउनुपर्ने अग्रिम शुल्क भने बुझाएको छैन । थप तथा अधिकतम फ्रिक्वेन्सीबापत असोजसम्ममा बुझाइसक्नु पर्ने १४ करोड ४० लाख रुपैयाँ ८ महीना बितिसक्दासमेत नबुझाएको पाइएको हो । निर्धारित मिति पार गरेपछि मासिक २ प्रतिशतका दरले जरीवानासमेत थपिँदै गएको छ । जेठसम्म आइपुग्दा जरीवानाबापत २ करोड ३० लाख ४० हजार रुपैयाँ गरी कुल १६ करोड ७० लाख ४० हजार रुपैयाँ बक्यौता बुझाउनु पर्ने हुन्छ ।

उक्त रकम नबुझाएको खण्डमा भने स्मार्टले फोरजी सेवा सञ्चालन गर्न नपाउने प्राधिकरणका उपनिर्देशक रोयले बताए । कम्पनीले बाँकी बक्यौता चुक्ता गरेपछि मात्रै प्रविधि तटस्थताको नीतिअनुसार फोरजी शुरू गर्न पाउनेछ । हालसम्मको सबै बक्यौता अर्को सातासम्ममा चुक्ता गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।