0 COMMENTS

काठमाडौं ३१ जेठ ०७४/ गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप हैन बरु नेतृत्व गर्ने बताएका छन् ।बुधबार सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने टिप्पणी गरे । बुधबारको छलफलमा सञ्चारकर्मीले दिएका सुझावमध्ये कम्तीमा ७५ प्रतिशत काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री शर्माले बाँकी २५ प्रतिशत आफूले मात्रै चाहेर नहुनेभएकाले अरुको सहयोग लिएर पूरा गर्ने बताए ।

आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने उनले स्पष्ट पारे । सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै उनले भने, “सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न सकिन्न । सिपाहीलाई अनुशासित बनाउँदै प्रोत्साहन दिने योजना बनाउँदैछु ।”

आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको उनको भनाइ छ । प्रहरी सङ्गठन तँछाडमछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगुर्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने गृहमन्त्री शर्माले घोषणा गरे । उनले भनो, “भनसुन गर्नेलाई मैले कारवाही गर्नेछु । यो एक/दुई दिन मैले हेरेँ । कोही नदगुर्नाेस् भन्दाभन्दै पनि मलाई फोन गर्नेलाई मैले त्यो काम गर्दिनँ भनेर जवाफ दिएँ ।”

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तालिममा बढावा दिन तथा विभागको उद्देश्यअनुसार विभागलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको उनले जानकारी दिनुभयो । पत्रपत्रिकामा आएको समाचारका आधारमा प्रतिवेदन बनाउने विभागको कामलाई सुधार्न आवश्यक देखेको उनको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र स्पष्ट गरिने तथा सरुवा, बढुवाका लागि पद्धति बसालिने उनले बताए । उनका अनुसार निर्वाचन सम्पन्न भएपछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने छ । बुधबार नै आफूले पूर्व गृहसचिव, पूर्वप्रहरी प्रमुख बोलाएर सुझाव लिएको समेत उनले जानकारी दिए ।

असन्तुष्ट दललाई समेटेर लैजान प्रयासरत

आन्दोलनरत राष्ट्रिय जनता पार्टीप्रति सङ्केत गर्दै गृहमन्त्री शर्माले राजनीतिक असन्तुष्टिलाई दीर्घकालसम्म रहने अवस्था सिर्जना गर्न नहुने बताए । असन्तुष्टिलाई समाधान गर्नुपर्ने र त्यसको विधि भनेको वार्ता र संवाद नै भएकामा उनले जोड दिए । उनले भने, “निर्वाचनको दायरा फराकिलो भएको छ । विजय गच्छदारजी र उपेन्द्र यादवजीहरु निर्वाचनमा सहभागी हनुभएको छ, अन्य नेताहरु पनि निर्वाचनमा आउनु हुनेछ ।”

शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सरकार र गृहमन्त्रालयले आवश्यक तयारी पूरा गरेको तथा स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले आफ्नो मताधिकार प्रयोग गर्न सकुन् भन्ने आफूहरुको ध्येय रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।