0 COMMENTS

भक्तपुर३१जेष्ठ०७४/ मध्यपुर थिमी वडा नं। ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा भएको विवादपछि सो क्षेत्रमा रहेको जग्गा दुवै पक्षले आआफ्नो हो भनी दाबी गरेका छन् ।

शनिबार राति उक्त क्षेत्रमा डोजरले साविक खोला जुन ठाउँमा थियो सोही ठाउँमा फर्काएपछि अहिले विवाद यथावत छ । थिमीमा जग्गा पर्ने जग्गा धनी र सूर्यविनायकपट्टि जग्गा पर्ने दुवै जग्गा धनीहरूले आआफ्नो पक्षमा जग्गा भएको दावी गरेका हुन् ।

सूर्यविनायकतर्फका जग्गाधनी सूर्यविनायक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहनुभएका शिवशरण खत्री २०२१ सालको नापीमा खोला जुन ठाउँबाट बगेको थियो सोही ठाउँबाट आफूहरूले खोला बगाएको बताउँछन् । उनका अनुसार २०५४ सालमा बाढी आएर खोलाले धार परिवर्तन गरी आफूहरूको जग्गाबाट खोला बगेको जिकिर गर्दै उनले अहिले सोही ठाउँबाट खोला फर्काउँदा विवाद गर्नुको कुनै तुक छैन । सो समयमा स्थानीय किसानले खोलाको धार परिवर्तन गर्न नसकेको र सोही ठाउँबाट खोला बगेको थियो । अहिले स्थानीय किसानले साविकै ठाउँबाट खोला बगाएका हुन् ।

२०६९ साल असोज २२ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोलालाई साविक स्थानबाटै बग्न दिई उक्त क्षेत्रमा रहेको पुलको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र उपत्यका नगर विकास प्राधिकरण र मध्यपुर थिमीलाई लिखित आग्रह गरे पनि कार्यान्वयन भएको थिएन ।

त्यस्तै २०६९ साल असोज ५ गते सर्वोच्च अदालतले खोला साविक खोला जुन ठाउँबाट बगेको छ सोही ठाउँबाट बगाउनुपर्ने स्थानीय प्रशासन कार्यालयलाई आदेश जारी गरेको उनको भनाइ छ ।

मध्यपुर थिमीतर्फका जग्गा धनी विजयकृष्ण श्रेष्ठ २०५४ सालमा खोलाले बाहन परिवर्तन गरेको कुरा झू्ठो भएको भन्दै धेरै वर्ष पहिलेदेखि सो ठाउँबाट खोला बगेको दाबी गरे ।

बालकोट तर्फका स्थानीयले सस्तोमा जग्गा खरिद गरी अहिले महँगोमा जग्गा बिक्री गर्नका लागि खोलाको बहाब परिवर्तन गरिएको आरोप उनको छ ।

सो क्षेत्रका जग्गा संरक्षण उपभोक्ता समितिका संयोजक शोभा अधिकारी अहिले पनि ब्लक फ्याट्रीले करिब सात रोपनी जग्गा अधिकरण गरी ब्लक फ्याट्री सञ्चालन गर्दा सम्बन्धित निकाय ध्यान गएको छैन तर आफूहरूको नाममा लालपूर्जा हुँदाहुँदै जग्गाको भोगचलन गर्न नपाएको उनको गुनासो छ ।

लालपूर्जा भएको व्यक्तिको जग्गाबाट २० वर्षसम्म जबरजस्ती खोला बगिरहँदा स्थानीय किसानहरू सहनशील भएर बसेका थिए तर अहिले भने जुन ठाउँबाट खोला बग्नुपर्ने हो सोही ठाउँबाट खोला बगाउँदा विवाद गर्नुको कुनै औचित्य नभएको उनको भनाइ छ ।

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिकाले भने यस विषयमा गम्भीर छलफल गरी सत्य तथ्यमा आधारित भई कारवाही अगाडि बढाउने जनाएको छ ।
यसअघि पनि पटक पटक उक्त स्थानमा खोला साविक स्थानबाटै फर्काउने प्रयास भए पनि सार्थकता भने पाउन सकेको थिएन । गोरखापत्र बाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।