0 COMMENTS

काठमाडौं ३१ जेठ०७४/तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो भएको छ ।

राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । निर्वाचनमा सहभागी हुन राजपाले लिखित प्रतिबद्धता जनाए मिति केही सारेर जान पनि आफूहरू तयार हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो । तर, निर्वाचन सारिहाल्ने प्रस्ताव भने सत्तापक्षले नराखेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

‘बुधबार ४ बजे राजपासँग संयुक्त बैठक बस्छ । लिखित सहमति बन्ने वातावरण बन्यो भने उहाँहरूसँगै बसेर निर्णय लिने भन्ने छ,’ पुनले भने, ‘तर, अहिलेसम्म १४ असारमै निर्वाचन गराउने विषयमा सरकार र प्रधानमन्त्री पूर्ण प्रतिबद्ध हुनुहुन्छ । यसमा कुनै दायाँ–बायाँ गर्ने उहाँको कुनै प्रस्ताव छैन ।’

एमालेले भने कुनै पनि बहानामा अब पनि निर्वाचन सार्न नहुने भन्दै सरकारको संकेतप्रति विरोध जनाएको छ । ‘सत्तापक्षले निर्वाचन सारौँ भनेर भन्न–भन्न खोज्ने, तर भन्न नसक्ने अवस्था बैठकमा देखियो, राजपा नआउँदा अलिक अप्ठ्यारोजस्तो देखिन्छ कि भन्ने अनि फेरि ठ्याक्कै कुरा अड्काउने गरी सत्तापक्ष आयो,’ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै एमाले अध्यक्ष केपी ओलीले भने, ‘तर, हामी चुनाव १४ असारमै हुनुपर्छ भन्नेमा छौँ ।’

कांग्रेस कार्यसम्पादन समितिको मंगलबार नै बसेको बैठकमा २ र ५ नम्बर प्रदेशको निर्वाचन सारेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनैपर्ने प्रस्ताव आएपछि प्रधानमन्त्रीले मंगलबार साँझ सत्तारुढ दल र प्रमुख प्रतिपक्षीसहितको बैठक बोलाएका थिए । बैठकमा राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सकिन्छ कि भनेर अझै एक चरण छलफल गर्ने कुरा भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘राजपालाई पनि सहभागी गराउन सकिन्छ कि भनेर उहाँहरूसँग फेरि छलफल गर्न खोजिएको छ । तर, टुंगो लागेको छैन,’ नेता पौडेलले भने, ‘चुनाव सार्ने होइन, यही मितिमा उहा“हरू (राजपा)लाई पनि सहभागी गराउन छलफल जारी छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।