काठमाडौं ३०,जेठ०७४/ भरतपुर महानगरपालिका वडा नं १९ को पुन मतदान गर्नुपर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध दायर भएको रीट निवेदनको सुनुवाई गर्ने पालो मङ्गलवार पनि नआउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सो रीट निवेदन ‘थ’ नम्बरमा राखिएको छ । यस भन्दा अघि उल्लेख्य सङ्ख्यामा मुद्दा सुनुवाई गर्ने भएका कारण सो रीट निवेदनको पालो नआउने निश्चित प्राय छ । स्थानीय तहको निर्वाचनको क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मत गणना भइरहँदा मतपत्र च्यातिएपछि विवाद उत्पन्न भएको थियो । सो विवाद पछि निर्वाचन आयोगले सो वडा नम्बरमा पुनः मतदान गर्नुपर्ने गरी निर्णय गरेको थियो । निर्वाचन आयोगको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन परेको हो । न्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासले हाललाई निर्वाचन आयोगको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न (आज) मङ्गलवार पेशी तोकिएको भएपनि आज त्यसको सुनुवाई गर्नको लागि पालो नआउने निश्चित प्राय भएको सर्वोच्च अदालतका एक कर्मचारीले बताए ।