0 COMMENTS

काठमाडौं ३०, जेठ०७४/प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन्।

२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन्। नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भएपनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन्।

लामो समयसम्म कांग्रेसमा योगदान पु-याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमल बजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो। सिफारिसपछि १४ वैशाखदेखि काठमाडौंमा बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे। देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने। तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो। त्यसपछि बिच्किएका हुन् सुरेन्द्र।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए। उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए।

‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने।

‘माओवादी द्वन्द्वकालमा सर्वस्वहरण हँुदा पनि ज्यान बचाएर पार्टीले दिएको जिम्मेवारी परा गरेँ, जनताको घरआँगनबाट बाहिर गइन, दुःख र सुखमा साथ दिएँ, तर पार्टीले मूल्यांकन गरेन, पार्टीको निर्णयले कांग्रेसका इमान्दार कार्यकर्ताको मनमा पनि चोट लागेको छ, उहाँहरुले बागी भएपनि उम्मेदवारी दिन आग्रह गरेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ सुरेन्द्रले भने।

उनी २०४९ सालमा निर्विरोध गाविस अध्यक्ष भएका थिए। २०५४ सालमा भने उनी उठेनन्। अहिले स्थानीय समितिले उनलाई मेयरमा सिफारिस ग-यो। देउवा आफ्नो पुरानो साथी पनि भएकाले टिकट पाउनेमा उनी निश्चिन्त थिए। देउवाले पनि अर्काे विकल्प नभएको भनेपछि उनी झनै हौंसिएका थिए। आजको राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।