0 COMMENTS

काठमाडौं २७जेठ २०७४/ मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । उपत्यकामा वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । सोही आधारमा पानीमाथि नियन्त्रण र निरीक्षण गरिने खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार जडान गर्न लागिएको यो प्रणाली नेपालमै पहिलो पटक हो । पहिलो चरणमा यो प्रणाली थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत बिछ्याइएका पाइपमा कार्यान्वयन गरिनेछ । उपत्यकामा यस प्रणालीअन्तर्गत ७७ किमि पाइप बिछ्याइएका छन् ।

६४ करोडको लागतमा स्काडा प्रणाली जडान
पिआइडीका प्रवक्ता तथा वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले यो प्रणाली सेट भएपछि वितरित पानीको सम्पूर्ण विवरण एउटै कोठामा संकलन हुने र आइपर्ने समस्या कन्ट्रोल रुमबाटै समाधान गरिने जानकारी दिए । ‘स्काडा प्रणाली नेपालमै पहिलोपटक जडान हुन लागेको हो । यो अत्याधुनिक प्रविधि हो । यसले पाइप र पाइपमा वितरित पानीको सम्पूर्ण विवरण कन्ट्रोल रुममा पठाउनेछ । त्यसबाट आवश्यक अपरेसन कोठाबाटै हुनेछ,’ उनले भने ।

पिआइडीका अनुसार स्काडा प्रणाली ६४ करोड २० लाख रुपैयाँ खर्चमा जडान गर्न लागिएको हो । यसका लागि पिआइडीले आउने साताभित्र टेन्डर आह्वान हुनेछ । अबको तीन वर्षभित्र प्रणाली जडान गरिसक्ने पिआइडीको योजना छ । कन्ट्रोल रुम भने महाराजगन्जस्थित पानी ट्यांकीमा राखिनेछ । ‘करिब ६ मिलिनयन अमेरिकी डलरको लागतमा यो प्रणाली जडान गरिँदै छ । यसका लागि १५ जुनभित्र टेन्डर आह्वान हुनेछ । काम सक्न तीन वर्ष लाग्नेछ,’ उनले भने ।

यसरी काम गर्छ स्काडाले
पिआइडीका अनुसार वितरण गरिएका सबै खानेपानी पाइप र ट्यांकीमा ‘सेन्सर’ जडान गरिनेछ । जडित सेन्सरको सम्बन्ध ‘मास्टर कन्ट्रोल रुम’मा हुनेछ । सेन्सरले पानीको सबै विवरण कन्ट्रोल रुमलाई दिनेछ । त्यसले पानीको बहाव, लिकेज र गुुणस्तर मापन गर्नेछ ।

पिआइडीका अनुसार सेन्सरले ट्यांकीीमा पानी भएको–नभएको सूचना दिनेछ । ट्यांकीीमा पानी छैन भने कन्ट्रोल रुममै स्विच दबाएर भर्नेछ । ट्यांकीी ओभरफ्लो हुन लागे पनि कन्ट्रोल रुममै बसेर पानी बन्द गर्न सकिनेछ । ‘सेन्सरले पानीको सबै सूचना कन्ट्रोल रुमलाई दिन्छ । कन्ट्रोल रुमबाटै वितरित सबै पानी नियन्त्रण गर्न सकिनेछ, हाम्रो काम भनेको बटम थिच्ने मात्रै हो,’ प्रवक्ता ढकालले भने ।

पाइप बिछ्याउने काम अन्तिम चरणमा
पिआइडीले खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा पुर्याएको छ । वितरण सञ्जाल सुधार (डिएनआई) अन्तर्गत बिछ्याउनुपर्ने ६७० किमिमध्ये पिआइडीले ५८५ किमि पाइप बिछ्याइसकेको छ । अब ८५ किमि पाइप बिछ्याउन बाँकी छ । त्यस्तै, थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गत बिछ्याउनुपर्ने ७७ किमि पाइपमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।