0 COMMENTS

काठमाडौं २७ जेठ०७४/ रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा आजबाट काठमाडौंका सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० सम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।

पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ । त्यसमा पनि कृषि क्षेत्रमा ५१ हजार दुई सय दुई र उत्पादन क्षेत्रमा २४ हजार तीन सय ७८ जनाले आवेदन दिएका छन् ।पहिलो सिफ्टमा परीक्षा दिने परीक्षार्थी ८ बजेसम्ममा परीक्षा केन्द्रभित्र प्रवेश गरिसक्नुपर्नेछ भने दोस्रो सिफ्टमा परीक्षा दिने परीक्षार्थी १२ बजे अगाडि नै परीक्षा केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने शाखाले जनाएको छ ।

परीक्षार्थीले कालो बल पेनसहित राहदानीको सक्कल र रंगीन प्रिन्ट गरेको प्रवेशपत्र साथमा ल्याउनुपर्ने शाखाले जनाएको छ । परीक्षा केन्द्रमा विद्युतीय सामग्री ल्याउने परीक्षार्थीको परीक्षा रद्द हुने खतिवडाले जानकारी दिनुभयो । परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउनेछन् । जसमा चार हजार उत्पादन क्षेत्रमा र ६ हजार दुई सय कृषि क्षेत्रमा काम गर्न कोरिया जानेछन् ।

परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको शाखाको भनाइ छ । परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको टोली नेपाल आइसकेको छ । प्रतिसेन्टर तीन जनाका दरले निजामती कर्मचारी र परीक्षा सञ्चालन हुने स्कुल तथा कलेजका आवश्यक कर्मचारी तोकिसकेको खतिवडाले जानकारी दिनुभयो ।परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन गर्न प्रत्येक केन्द्रमा ३५ जना सुरुक्षाकर्मी खटाइनेछ भने प्रश्नपत्र र उत्तरपुस्तिका पुर्‍याउनसमेत सुरक्षाकर्मी परिचालन हुने शाखाले जनाएको छ ।

परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीले प्रवेशपत्र र पासपोर्ट हेर्नेछन् भने परीक्षा केन्द्रका कर्मचारीले चेक गरेर परीक्षा हलमा प्रवेश दिनेछन् । परीक्षा सञ्चालन भइरहेको अवधिमा निरीक्षकले चेक गर्ने खतिवडाले जानकारी दिनुभयो । कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भई नेपाल सरकार आपैंmले सन् २००८ बाट कामदार पठाउँदै आएको छ । अहिलेसम्म ४४ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् ।

कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लाने तयारी गरेको छ । सन् २०१६ मा ६१ हजारले परीक्षा आवेदन फारम भरेका थिए । यो वर्ष १४ हजार बढीले फारम भरेका छन् । गत वर्ष ३५ सय १७ जना उत्तीर्ण भएका थिए भने यो वर्ष झन्डै १० हजार पाँच सय जना उत्तीर्ण हुनेछन् । सन् २००८ को पहिलो कोरियन भाषा परीक्षामा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए ।

सन् २०१८ मा आइपुग्दा ७५ हजारले आवेदन दिइसकेका छन् । यसैगरी सन् २०१० मा ३६ हजार दुई सय तीन, २०११ मा ५० हजार ४३, सन् २०१३ मा ४४ हजार एक सय २२, सन् २०१४ मा ५८ हजार सात सय ४६ र सन् २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए ।परीक्षामा सहभागीमध्ये सन् २००८ मा ६ हजार सात सय ८६, सन् २०१० मा चार हजार एक सय ८०, सन् २०११ मा १५ हजार ६ सय ७८, सन् २०१३ मा आठ हजार ५१, सन् २०१४ मा ३६ सय ६४, सन् २०१५ मा आठ हजार चार सय ९० र सन् २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए।

सन् २००८ देखि सन् २०१६ को भाषा परीक्षासम्म तीन लाख ३२ हजार चार सय दुई जना सहभागी भइसकेका छन् । जसमा ४५ हजार नौ सय ९१ पुरुष र ४३ सय ७४ महिला गरी कुल ५० हजार तीन सय ६५ जना भाषा परीक्षामा पास भएको शाखाले जनाएको छ । भाषा परीक्षा पास भएकामध्ये ४९ हजार चार सय ५१ जनाले कामका लागि प्रक्रिया सुरु गरेकोमा अहिलेसम्म ४४ हजारभन्दा बढी कोरिया पुगिसकेका छन् जसमा २८ सयको हाराहारीमा महिला छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।