0 COMMENTS

काठमाडौं२७जेष्ठ०७४/ मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् ।नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गाउँ–गाउँ एवं बुथहरूमा निर्वाचन बिथोल्न समिति गठन गर्दै सशक्त आन्दोलनको तयारीमा जुटेको छ ।

१४ असारमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपालका नेताहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । पहिलो चरणको निर्वाचनमा सहभागी यी दुवै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने र निर्वाचनमा विजयी हुनका लागि गठबन्धन नै निर्माण गरेर निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले उम्मेदवार छान्न जिल्ला जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेको बताए । वीरगन्ज, विराटनगर, कलैया, जनकपुरलगायतका केही महत्वपूर्ण ठाउँबाहेक सबै ठाउँमा उम्मेदवार छनोट भइसकेको बताउँदै उनले शनिबारसम्ममा सबै ठाउँमा उम्मेदवार छनोट गरिसक्ने बताए ।

‘हाम्रो उम्मेदवार छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ, जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेका छौं,’ मल्लिकले राजधानीसँग भने, ‘निर्वाचनमा अधिकतम उपलब्धि र आवश्यकताका आधारमा गठबन्धन निर्माण गरेरै निर्वाचनमा सहभागी हुन्छौं ।’चुनावी गठबन्धन निर्माणका लागि जिल्ला समितिहरूलाई नै अधिकार दिएको उनले बताए । फोरम नेपालसहितका दलसँग गठबन्धन निर्माण हुन सक्ने उनको भनाइ रहको छ ।

सम्बन्धित गाउँपालिका र नगरपालिकाको सिफारिसमा जिल्ला समितिले प्रमुख र उपप्रमुखको टुंगो लगाउने अधिकार फोरम लोकतान्त्रिकले दिएको छ । उसले वडा अध्यक्ष र सदस्यको उम्मेदवार सम्बन्धित वडा समितिको सिफारिसमा माथिल्लो समितिले अनुमोदन गरेपछि उम्मेदवारको टुंगो लाग्ने मापदण्डको व्यवस्था गरेको छ ।

उम्मेदवार छनोट गर्दा सर्वसम्मत गर्ने, सर्वसम्मत हुन नसके बढीमा तीनजना उम्मेदवारको नामावली सम्बन्धित समितिले सिफारिस गर्नुपर्ने फोरम लोकतान्त्रिकले जनाएको छ ।विवाद भएका ठाउँको हकमा केन्द्रीय समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य वेद गच्छदारले बताए ।

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छिटो उम्मेदवार छनोट गर्नुपर्ने निर्देशन स्थानीय कमिटीलाई दिएको बताए । गाउँ, नगरमा उम्मेदवार छनोट गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको उनलेबताएका छन् ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।