0 COMMENTS

काठमाडौं २६ जेठ २०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन समयमै गर्नु आफ्नो चुनौती भएको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघले गरेको ‘स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण’ कार्यक्रममा देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन समयमै गर्नु आफ्नो सरकारको चुनौती भएको बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

‘१४ असारमा दोस्रो चरणको निर्वाचन गर्नु छ । त्यसपछि सात माघसम्म प्रदेश र संसद्को निर्वाचन गरिसक्नुपर्ने चुनौती छ,’ देउवाले भने, ‘सात सालदेखि लड्दै त्यसपछिका सबै आन्दोलनमा नेतृत्व गर्दै प्रजातन्त्रलाई सदृढ गर्ने पार्टी नेपाली कांग्रेस नै भएकाले फेरि पनि मिलेर यो चुनौतीलाई सामना गर्नुपर्छ ।’ कांग्रेसले जित्दा मात्र युवाहरूको भविष्य सुनिश्चित हुने भएकाले पनि अब युवाहरू कांग्रेसलाई जिताउन लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले कांग्रेसमा भोलिका नेता तरुण दलका युवा र विद्यार्थी भएको भन्दै ‘युथ फोर्स’ को जस्तो तागत देखाउन आग्रह गरे । ‘नेविसंघ र युवा पुस्तालाई भोलिको नेपाल बनाउने जिम्मेवारी आउँदै छ । त्यसैले अब नेविसंघले ‘युथफोर्स’ को तागत देखाउने बेलाआएको छ,’ उनले भने ।

पौडेलले भने नेविसंघले अन्तर्घातीलाई रोक्नुपर्छ
कांग्रेस नेता रामचन्द्र पौडेलले धेरै आकांक्षीका बीचबाट निर्वाचनमा टिकट दिनुपर्ने हुँदा हुन सक्ने अन्तर्घात रोक्न नेविसंघका नेतालाई निर्देशन दिए । ‘१० देखि १५ जना दाबेदारका बीचबाट जम्मा एउटाले टिकट पाउँछ, यस्तोमा नपाउने असन्तुष्ट हुन्छन्,’ पौडेलले भने, ‘त्यसकारण सबैलाई एकत्रित गर्ने जिम्मा नेविसंघले लिनुपर्छ । अब निर्वाचनमा हुन सक्ने अन्तर्घात रोक्ने जिम्मेवारी नेविसंघको पनि हो ।’

पहिलो चरणको निर्वाचनमा सहरी क्षेत्रमा हारेकोतिर संकेत गर्दै पौडेलले दोस्रो चरणको निर्वाचन कांग्रेसका लागि परीक्षाको घडी भएको बताए ।

‘निर्वाचन कांग्रेसका लागि परीक्षाको घडी हो,’ उनले भने, ‘निर्वाचनलाई सफल पार्न सकिएन भने अरू प्रदेश र संसद्को निर्वाचन बिथोलिन सक्छन् । संविधान कार्यान्वयनमा असर पुग्छ, त्यसैले निर्वाचन सफल पार्न सबै एक हुनु जरुरी छ ।’ केन्द्रीय सदस्य रमेश लेखक, गगन थापासहितका नेताले नेविसंघका नेता, कार्यकर्तालाई कांग्रेसको पक्षमा माहोल बनाउने गरी दोस्रो चरणको निर्वाचनमा खट्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।