0 COMMENTS

काठमाडौँ २५ जेठ २०७४/द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले ललितपुरस्थित बालकुमारी डिपोबाट भूकम्पपीडितको घर निर्माणका लागि सहुलियत दरमा चिरान काठ उपलब्ध गराउन सुरु गरेको छ ।

‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ को परिच्छेद ५ को दफा ११ अनुसार काठ सहज रुपमा उपलब्ध गराई बिक्रीवितरण प्रक्रियालाई सहजीकरण तथा व्यवस्थापन गर्न समिति गठन गरी सो कार्य सुरु गरिएको हो ।

प्रतिघरपरिवारका लागि ५० क्युफिटसम्म चिरान काठ सहुलियत दरमा उपलब्ध गराउन सुरु गरेको द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने काठ व्यवस्थापन समितिमा स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकृत, जिल्ला प्रहरी कार्यालयको प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको प्रतिनिधि, टिम्बर कर्पोरेसनको अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन अधिकृतले तोकेको सहायक वन अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले सम्बन्धित जिल्लाका भूकम्पपीडित परिवारलाई आवश्यक पर्ने काठको लगत तयार गरी वन विभागसँग काठ उपलब्ध गराउन अनुरोध गरेको महाप्रबन्धक लौडारीले बताए । विभागले समितिको अनुरोधमा टिम्बर कर्पोरेसन वा जिल्ला वन पैदावर आपूर्ति समितिसँग समन्वय गरी काठ प्राप्ति, चिरानी र ढुवानी कार्यको व्यवस्था मिलाउने गरेको छ ।

समितिले काठको डिपो स्थापना गर्न स्थानको छनोट, डिपो स्थापना र डिपोको सञ्चालन तथा सुरक्षाको व्यवस्था मिलाउनुका साथै उपलब्ध गराइएका काठको सहीरुपमा उपयोग भए÷ नभएका सम्बन्धमा समेत अनुगमन गर्नेछ ।

घर निर्माणका लागि काठ आवश्यकपर्ने भूकम्पपीडितले नागरिकता, भूकम्पपीडित परिचयपत्र, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भएको सम्भौता, जग्गा धनी प्रमाण पुर्जा, घर निर्माणको नक्सा र इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

सिफारिस भई आएका भूकम्पपीडितलाई कर्पोरेसनको बिक्री डिपो बालकुमारीले अग्रिम रुपमा निवेदकलाई टेलिफोन सम्पर्क गरी चिरान काठ लिन आउने दिन, समय तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउने गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।