0 COMMENTS

काठमाडौं२४ जेठ २०७४/ श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न नपाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दुस्ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए । स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले आफूलाई अनाहकमा दु:ख दिइएको बताए । आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन । विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए । उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।