0 COMMENTS

काठमाडौं २४जेष्ठ०७४/ नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूबीच सहमति जुटेसँगै सेयर बजार उकालो लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयरमा लगानीकर्ता हौसिएका हुन् ।नेप्से परिसूचक मंगलबार ३४.७२ अंकले बढेर १६ सय ३७ दशमलव ३७ बिन्दूमा आइपुगेको छ । समग्रमा बजार दुई दशमलव १७ प्रतिशतले माथि लागेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि तेजी आएर एकै दिन कुल बजार पुँजीकरण ४० अर्ब ६२ करोड रुपैयाँले बढेर १९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । बजार पुँजीकरणमा वृद्धि भए पनि कारोबार रकम भने एक अर्ब पुग्न सकेको छैन ।

कुल एक ४८ कम्पनीको ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यस दिन १५ लाख १६ हजार दुई सय दुई कित्ता सेयर किनबेच भएको हो । बैंक तथा वित्तीय संस्थाले चर्को लगानीयोग्य पुँजी अभाव खेप्नु परेसँगै ब्याजदर बढ्दा बजार सुस्त गतिमा अघि बढेको थियो ।केही समयदेखि लगातार ओरालो लागेको बजारमा नयाँ सरकार गठनमा सहमति जुटेको दिन सोमबारदेखि केही सुधार देखिएको हो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम २९ करोड १४ लाखले बढेको छ ।

नयाँ सरकार गठन तथा प्रधानमन्त्री चयनसँगै दोस्रो चरणको चुनाव हुने निश्चितता एवम सेयर बजारमा विदेशी लगानीकर्ताले प्रवेश पाउने भएपछि सेयर बजार उकालो लागेको नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले जानकारी दिनुभयो । ‘पहिलो चरणको चुनावसँगै थपघट भइरहेको बजार सरकार गठन पक्रिया अघि बढेसँग बजार उकालो लागेको हो’, उहाँले भन्नुभयो, ‘बजारमा हकप्रद र बोनस सेयर पनि केही मात्रामा आएको छ ।

यसका साथै पछिल्लो समय बिमा कम्पनीले नयाँ लाइसेन्स पाएका छन् । यसले पनि सेयर बजारलाई माथि उक्लन सहयोग गरेको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी सबै सूचक माथितिर लागेका छन् । उत्पादनमूक समूहमा भने १४.०६ अंकले गिरावट आएको छ भने बिमा समूहको सूचकले मंगलबार छलाङ मारेको छ । उक्त दिन बिमा सूचक एक ७२ दशमलव ५७ अंकले बढेको छ । होटेल सूचक ६२.४५ अंकले माथि उक्लिएको छ । बजारमा अधिक पुँजी हिस्सा ओगट्ने वाणिज्य बैंक समूहमा ३५.८२ अंकको वृद्धि भएको छ । जलविद्युत् कम्पनीको नेप्से परिसूचक ३५.६८ अंकले र वित्तीय संस्थाको परिसूचक सात दशमलव ३१ अंकले बढेको छ ।

मंगलबारको भएको कारोबार रकममा सिभिल बैंक सबैभन्दा अग्रस्थानमा आएको छ । सिभिलको सात करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः स्टान्डर्ड चार्टर्ड बैक र सिद्धार्थ इन्स्योरेन्सले बाजी मारेका छन् । यी दुई कम्पनीको ६ करोड ८५ लाख र तीन करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बोट्लर्स नेपाल, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्मिक वान, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंकले मंगलबार सबैभन्दा धेरै गुमाएका छन् ।

एक करोड १८ लाख कित्ता सेयर सूचीकृत
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मंगलबार एक करोड १८ लाख ६२ हजार कित्ता सेयर सूचीकृत भएको छ । बैंक अफ काठमान्डू, रिलायन्स फाइनान्स, एनएमबी माइक्रोफाइनान्सको मंगलबार बोनस तथा हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंक अफ काठमाडौंको एक करोड पाँच लाख २६ हजार आठ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेडको ६ लाख ६८ हजार पाँच सय ७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख ६७ हजार कित्ता सेयर सूचीकृत भएको छ । यो संस्थाको बोनस सेयर १ लाख १५ हजार कित्ता र हकप्रद सेयर ५ लाख ५२ हजार कित्ता सूचीकृत भएको हो ।अन्नपुर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।