0 COMMENTS

काठमाडौं२३जेष्ठ०७४ /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेद्वार हुन् ।

व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनले बहुमतका आधारमा देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३८८ मत पाएका छन् । सभामुख ओनसरी घर्तीले घोषणा गर्दै देउवा प्रधानमन्त्री भएका हुन् । यसअघि देउवा तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

उम्मेदवारीका लागि तोकिएको समयसीमा आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्ममा देउवाको मात्र उम्मेदवारी परेको थियो । संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको पूर्ण साथ पाएका देउवालाई राजपा र संघीय समाजवादी फोरमलगायत अन्य साना दलले साथ दिएका थियो ।कांग्रेस सभापति देउवा १० वर्षपछि सत्तामा फर्केका हुन् । गणतन्त्रका १० वर्षमा १०औँ प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित भएका हुन् ।

को हुन् देउवा ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघका संस्थापक सभापति हुन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा छन् । उनकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि हाल व्यवस्थापिका–संसद्को सदस्य छिन् । नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित भए ।

विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी पहिलोपटक कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । विसं २०५१ मा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिष्ट सरकार विसं २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बने । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्तीमा परे ।

वर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परे । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा(माओवादी)बीच सहकार्यको वातावरण बनेको थियो ।

विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजन भएको थियो । कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को विसं २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

देउवा विसं २०५६ मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत बने । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि सङ्घका प्रथम सभापति हुन् भने सुदूरपश्चिममा कांग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरिसकेका छन् ।

कांग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति पदमा विजयी भए । यसअघि पार्टीको १० औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित भएका थिए ।

पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित भएका थिए । तर, मंगलबार सम्पन्न प्रधानमन्त्रीको निर्वाचनमा उनी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।