0 COMMENTS

काठमाडौँ २३जेष्ठ०७४/ व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ । प्रधानमन्त्री चयनका लागिसंसद् बैठक आज अपराह्न १ बजे बस्दैछ । नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद–९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानानुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गर्नुभएको थियो । सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपतिले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सचिवालयले नियमावलीको दफा ४९ को उपदफा (४) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्रीको निर्वाचन तालिकानुसार प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उपनियम (५) मा उम्मेदवारीको सूचना एउटा मात्र प्राप्त भएमा प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । सो उम्मेदवारीमाथि उपनियम (७) बमोजिम मत विभाजन गर्दा संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिनेछ ।

संसद्को निर्णय मत विभाजनद्वारा हुनेछ । एउटा मात्र उम्मेदवारीको सूचना प्राप्त भएका अवस्थामा सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात् ‘हुन्छ’ भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात् ‘हुन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिने उपनियम (७)मा उल्लेख छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा काँग्रेस संसदीय दलका नेता देउवाले जेठ २० गते प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । संसद्मा हाल ५९३ सांसद छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन २९७ मत आवश्यक पर्छ ।

काँग्रेससँगको आलोपालो सत्ता नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले जेठ १० गते राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहाल काँग्रेससँगको सातबुँदे समझदारीपछि गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।