0 COMMENTS

काठमाडौं२३जेष्ठ०७४/ सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । ‘निकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौं’, ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भन्नुभयो । उहाँले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताउनुभयो । दोषी धरौटीमा समेत नछुट्ने उहाँको भनाइ छ।

वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरीको सोमबार चक्रपथमा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा गाडीको ठक्करले मृत्यु भएको छ ।

वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । यात्रु लिएर आइतबार साँझ वीरगन्जबाट हिँडेको उक्त बस यात्रुलाई ओराल्दै गौशाला-चाबहिलको बाटो भएर बसपार्कमा ‘बिसौनी’ गर्न हिँडेको थियो । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत रविनाले बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । ‘त्यहाँको म्याम विदेश गएको बेला बहिनी (रविना) लाई दुई महिना पढाउन दिइएको थियो । पछि म्याम फर्किएपछि बहिनीले पढाउन छाडेकी थिइन् । बीबीएसको पढाइ सकेपछि उनलाई सोही स्कुलले बोलाएको थियो’, दाजु ईश्वरले भन्नुभयो, ‘पढाउन बिहान सुकेधाराबाट बस चढेर हिँडेकी थिइन् । वसुन्धरामा ओर्लिएर बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएछ ।’

अविवाहित रविना चार छोरीमध्ये साहिली सन्तान् थिइन् । उनी बुबा-आमा, दाजु र दिदी-बहिनीसहित सुकेधारामा बस्दै आएकी थिइन् । आफन्तले शव बुझ्न मानेका छैनन् । मंगलबार यातायात व्यवसायी महासंघसँग छलफल गरेपछि मात्र शव बुझ्ने दाजु ईश्वरले बताउनुभयो । प्रहरीले बसचालक बारा निजगढका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख गोविन्द पुरीले बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताउनुभयो । चक्रपथको गौशाला-स्वयम्भू सडकखण्डमा पैदलयात्रु बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘यो खण्डमा चालकले तीव्रगतिमा सवारीसाधन गुडाउँछन्, बाटोको बनोट पनि त्यही किसिमको भएका कारण चालकले होसियारी अपनाउन नसक्दा दुर्घटना बढेको हो’, डीएसपी पुरीले भन्नुभयो ।

‘सहमतिमा कानुनलाई कमजोर बनाइन्छ’

सवारी ज्यानमुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाहीपूर्वक चलाएर ज्यान गएको हो भने चालकलाई दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने एक वर्षसम्मको कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी, ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान गएको हो भने चालकलाई जन्मकैदसम्म सजाय हुन्छ । ‘तर पीडित पक्ष र यातायात व्यवसायीबीच हुने सहमतिले चालकलाई उन्मुक्ति दिइन्छ ।
धेरै घटनामा पीडकलाई जरिवाना मात्रै भएको देखिन्छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको बनाएर सजाय कम गर्ने गरिन्छ’, प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन् । त्यसो त ज्यान गएको अवस्थामा पीडित पक्षले तेस्रो पक्ष बिमाबापत पाँच लाख रुपैयाँ पाउँछन् । ‘पीडकले हदैसम्मको सजाय नपाएसम्म यस्ता घटना कम हुँदैनन्’, ती अधिकृत भन्छन् ।
ट्राफिक महाशाखा प्रमुख लामाले पैदलयात्रु नभए पनि जेब्रा क्रसिङमा सवारी चालकले सवारी रोक्नुपर्ने बताउनुहुन्छ । ‘जेब्रा क्रसिङ पैदल यात्रुको ठाउँ हो । त्यसैले जेब्रा क्रसिङ आउनुअघि चालकले सवारी रोक्नुपर्छ’, उहाँले भन्नुभयो । ट्राफिक प्रहरी महाशाखाले पैदलयात्रुले जेब्रा क्रसिङ, सडक पेटी वा पेटी नभए सडकको छेउ, ओभरब्रिजलगायत ठाउँबाट मात्र पैदल यात्रा गर्नुपर्ने र त्यसो नगरे कारबाही हुने बताइरहेको छ।

ट्राफिक नियम पालना नगरेको भन्दै उपत्यकामा मात्र १६ हजार नौ सय ८६ जनालाई कारबाही गरिएको छ । काठमाडौंमा १३ हजार चार सय ५३, भक्तपुरमा १२ सय र ललितपुरमा २३ सय ३३ जना कारबाहीमा परेका हुन् ।

यी हुन् ‘ब्ल्याक स्पट’
ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ । यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण-चाबहिल खण्ड, सुकेधारा-धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गोअगाडि, तिलगंगाअगाडि, बाफल-हल्चोक खण्ड, बबरमहल-माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा ओरालो, त्रिभुवन पार्कअगाडि, कोटेश्वर-मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे-लप्सीफेदी खण्ड, बूढानीलकण्ठको चपली घुम्ती, धोबीघाट, हात्तीवन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल-लोकन्थली क्षेत्र छन् ।अन्नपुर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।