0 COMMENTS

काठमाण्डाै२०जेष्ठ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जेब्रा क्रसिङको पर्याप्त व्यवस्था विना नै पैदल यात्रु सुरक्षा अभियान –२०७४ कार्यान्वयनमा ल्याएको छ । उपत्यकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ नभएपनि १६ जेठदेखि पैदल यात्रु सुरक्षा अभियान नियम लागू गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ मा उल्लेख भए बमोजिम पैदल यात्रु सुरक्षा अभियान नियम कार्यान्वयनमा मात्र ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङ्मार लामाले बताए । उनका अनुसार उक्त ऐनमा पैदल यात्रुहरुले तोकिएको बाटो मात्र प्रयोग गर्न पाउनेछन् । दफा १३६ सडक पेटीको प्रयोग र १३७ मा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग गर्नुपर्ने उल्लेख छ । ऐनमा भएको नियम उपत्यकाबाट कार्यान्वयन गर्न मात्र खोजेको डिआइजी लामाको भनाई छ ।

उपत्यकामा ३ सय वटा जेब्रा क्रसिङ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको तीनवटै जिल्लामा पैदल यात्रु सुरक्षा अभियानको नियम लागू गरेपनि जेब्रा क्रसिङ अभाव रहेको पैदल यात्रुहरुको गुनासो छ । आफू जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्दा कारबाहीमा परिएको पैदल यात्रु महम्मद सजादले बताए ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर गरी ३ सय वटा जेब्रा क्रसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै २२ वटा आकाशे पुल र एक वटा सब वे रहेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको सिंहदरबारमा १८, महराजगञ्जमा २६, बौद्धमा ३, कोटेश्वरमा २८, कालीमाटीमा ११, जावलाखेलमा २४, भक्तपुरमा १५, दरबारमार्गमा २६, गौशालामा ११ जेब्रा क्रसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै, कलंकीमा ७, थापाथलीमा १५, सातदोबाटोमा ८, नयाँ बसपार्कमा ३, कमलपोखरी र जनसेवामा ९-९, सोह्रखुट्टेमा २, सुकेधारा र एयरपोर्टमा ७-७, स्वयम्भूमा ५, गठ्ठाघर ३२, थानकोट ७, नागढुङगा १, ठमेल ४, सानेपा ६, गौचरण २, कमलबिनायक ४ र बुढानिलकण्ठमा १० वटा जेब्रा क्रसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर अधिकांश जेब्रा क्रसिङ मर्मत नभएर मेटिएको ट्राफिक प्रहरीले स्वीकारेको छ ।

उपत्यकाको विभिन्न ठाउँमा गरी तीन सय वटा जेब्रा क्रसिङ रहेको छ । जसमध्ये २१ ठाउँमा मात्रै जेब्रा क्रसिङको संकेत पूर्णरुपमा नमेटिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कमलादी, तिरुपति होटेल, पुतलीसडक, कुमारी बैंक, पद्यमोदय रोड, अनामनगर चौक, सिंहदरबार, माइतीघर वारिपारि, बबरमल, जिल्ला अदालत, बिजुली बजार, होटोल ऐभरेष्ट, बानेश्वर चौक, ट्रली बस लगायतका जम्मा २१ वटा ठाउँमा जेब्रा क्रसिङ मर्मत गरी प्रयोगमा ल्याइएको महनगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।

जेब्रा क्रसिङ र आकाशे पुल भएको ठाउँमा मात्रै कारबाही

सडक दुर्घटनामा न्यूनीकरण ल्याउनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १६ जेठदेखि पैदल यात्रु सुरक्षा अभियान नियम लागू गरेको छ । नियम लागू गरेको दुई दिनमा ७ हजार जना पैदल यात्रुलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । जसबाट ८ लाखको हाराहारीमा राजश्व समेत संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । ‘दुई दिनमा यतिको संख्यामा कारबाही भएको छ ।’ डिआइजी लामाले भने,‘तर जेब्रा क्रसिङ र आकाशे पुल भएको ठाउँबाट जथाभावी बाटो काट्दा मात्र कारबाही गरिएको हो ।’ उनले जेब्रा क्रसिङ र आकाशे पुल नभएको ठाउँबाट पैदल यात्रा गर्दा कारबाही नगरिएको उनको दाबी रहेको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।