0 COMMENTS

नेपालगन्ज, १९ जेठ०७४/ लाइसेन्सप्राप्त हतियार बुझाउन अटेर गर्नेलाई जिल्ला प्रशासनले कारबाही गर्न सुरु गरेको छ । स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि लक्षित गरी जिल्ला प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो । तर, हातहतियार बुझाउन अटेर गर्नेलाई खोजी गर्दै कारबाही गर्न सुरु गरिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वसाधारण नागरिकसँग भएको लाइसेन्सी हतियार १५ वैशाखभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन जारी गरेको सूचना अटेर गर्नेहरूको खोजी गर्दै नियन्त्रणमा लिएर तारिखमा छोडिएको छ । स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले अन्तिमपटक १५ वैशाखसम्म हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।

तोकिएको मितिसम्म न्यून संख्यामा हातहतियार बुझाइएपछि प्रशासनले घर–घरमा खोजी गरी दर्ता भएका थप हतियार नियन्त्रणमा लिएको हो । १५ गतेसम्म ९२ हतियार प्रहरीमा बुझाइएकोमा घरघरमा खोजी गर्दा हालसम्म २ सय १८ हतियार प्रहरी नियन्त्रणमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिए । उनले दर्ता भएका हतियार धनीको घर ठेगानामा प्रहरी पुगेर खोजी गर्दै आएको छ । अझै नवीकरण भएको आधारलाई नै मान्दा मात्रै पनि १७ वटा हतियार जम्मा हुन आउन बाँकी भएको जानकारी दिए ।

उनले भने, ‘प्रशासनले तोकेको मितिसम्म मात्र ९२ वटा हतियार बुझाउन आएको र बाँकी १ सय ४३ वटा हतियारको विषयमा मुचुल्का गरेर उनीहरूलाई तारेखमा छोडिएको छ, के कति कारणले उनीहरू सो हतियार बुझाउन नआएका हुन् अनुसन्धानपछि मात्र टुंगो लगाइनेछ ।’

जिल्ला प्रशासन कार्यालय बाँकेमा ७ सय ९८ वटा विभिन्न प्रकारका हतियार व्यक्तिको नाममा दर्ता भएको तथ्यांक छ । प्रशासनका अनुसार दर्तावाल हतियार धेरै भए पनि नवीकरण भएका हतियारको संख्या २ सय ३५ मात्रै हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक पटक हतियारको नवीकरण गरेमा दुई वर्षसम्म मान्यता हुने गर्दछ । प्रशासनको तथ्यांकअनुसार गर्त वर्ष १ सय १५ र यस वर्ष १ सय १८ वटा हतियारको नवीकरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।