0 COMMENTS

काठमाडौं१७ जेठ०७४/केही दिनयता हल्का वर्षा भइरहे पनि मनसून भने ढिलो गरी प्रवेश गर्ने मौसमविद्ले आकलन गरेका छन् । ‘पछिल्ला वर्ष मनसुन साविकभन्दा ७ देखि १० दिन ढिलो सुरु हुने गरेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘यो वर्ष पनि केही ढिलो हुने देखिन्छ ।’ महाशाखाले सम्भावित मनसुनी वर्षाबारे आकलन गरिसके पनि मनसुन प्रवेश गर्ने समयबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

अघिल्ला वर्ष प्रि–मनसुन सक्रिय भए पनि मनसुन भने पछि धकेलिएको थियो । गत वर्ष ५ दिन र सन् २०१५ मा १० दिन ढिलो गरी मनसुन सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागले १० जुनलाई मनसुन प्रवेश हुने दिन मान्दै आएको छ । नेपालमा भन्दा अघि मनसुन भारतको केरलामा सुरु हुन्छ ।

सामान्यतया जुन १ मा केरलामा र त्यसको १० दिनपछि (१० जुन/जेठ २७) बंगलादेशबाट झापा हुँदै नेपाल प्रवेश गर्छ । केही वर्षका तथ्यांक हेर्ने हो भने केरलामै मनसुन ढिलो प्रवेश हुने गरेको छ । ‘त्यहाँ ढिलो हुँदा स्वाभाविक रूपमै नेपालको मनसुन पछि धकेलिन्छ,’ कँडेलले भनिन् । काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले पनि पछिल्ला वर्ष मनसुनपछि धकेलिँदै गएकाले सुरु हुने मिति नै हेरफेर गर्नुपर्ने टिप्पणी गरे । ‘मनसुन ५ देखि १० दिनपछि धकेलिने गरेको छ,’ शाक्यले भने, ‘यो वर्ष पनि त्यस्तै सम्भावना छ ।’

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश भागमा यसपालि सरदरभन्दा कम वर्षा हुने आकलन गरेको छ । अप्रिलमा भुटानको थिम्पुमा भएको मञ्चको दसौं बैठकले मध्य र पूर्वी भागमा भने सरदर वर्षा हुने प्रक्षेपण गरेको छ । स्थान विशेषको लामो समय (३० वर्ष) को औसत वर्षालाई सरदर मानिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई सामान्य वर्षा भनिन्छ ।

मनसुन सुरु हुनुअघि दक्षिण एसिया क्षेत्रका मौसमविद् मनसुनसम्बन्धी साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् । दसौं बैठकले दक्षिण एसियाली मनसुनलाई मुख्य प्रभाव पार्ने ‘एलनिनो’ को अवस्था सक्रिय रहेको र मनसुनको उत्तराद्र्धतिर ‘एलनिनो’ कमजोर भई तटस्थ अवस्थामा हुने अनुमान गरिएकाले अन्त्यतिर मुलुकभर मनसुनको प्रभाव बढ्नेसमेत प्रक्षेपण गरिएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।