0 COMMENTS

काठमाडौँ, १५ जेठ०७४/ सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । खबर आजको गोरखापत्र राष्ट्रिय दैनिकमा छ ।

जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बजेटको अन्तिम तयारीबारे आइतबार जानकारी गराउनुभएको छ ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र बजेट महाशाखाका प्रमुख मधु मरासिनी समेतले बजेटका अन्तर विषयमा जानकारी गराउनु भएको हो ।

अर्थमन्त्री महराले व्यवस्थापिका संसद्मा सोमबार ४ बजे सरकारको आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नुहुनेछ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब तीन अर्ब रुपियाँको सीमा तोकेको छ ।

यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो । यस पटकको बजेटमा नयाँ किसिमका कार्यक्रम नसमेटिए पनि स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रधानमन्त्री महराले यसअघि नै स्पष्ट पार्नुभएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले आइतबार नै चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा व्यवस्थापिका संसद्मा पेस गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।