0 COMMENTS

परासी१५जेष्ठ०७४/ नवलपरासीमा मधेसी दलका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आक्रमण गरेका छन् । उनीहरूले पार्टी कार्यालयमा राखिएका बोर्ड निकालेर फ्याँकेका छन् भने कांग्रेस कार्यकर्ताले घरघरमा राखेका झन्डासमेत च्यातिदिएका छन् ।

निर्वाचन बिथोल्न घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार सदरमुकाम परासीमा राष्ट्रिय जनता पार्टी नेपालले निकालेको लाठी जुलुसमा सहभागी भएका कार्यकर्ताले कांग्रेस कार्यकर्ताले घरमा फहराएका झन्डा च्यात्नुका साथै रामग्राम नगर समिति र वडा पार्टी कार्यालयमा राखिएका बोर्ड फ्याँकिदिएका हुन् । बोर्ड र झन्डा च्याते पनि त्यहाँ रहेका सुरक्षाकर्मी भने मुकदर्शक बनेका थिए ।

परासी सदरमुकाममा कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउँदै नगरमा वडा कार्यालय र चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहित विभिन्न दलका कार्यकर्ताले बजार र गाउँका घरघरमा झन्डा राखेर चुनावी माहोल तताएका छन् । मधेसी दलका कार्यकर्ताले भने आफ्ना माग पूरा नभएसम्म प्रचार अभियान नथाल्न र घरमा झन्डा राखेर चुनावी माहोल सिर्जना नगर्न चेतावनी दिएका छन् ।
संयमित बन्न आग्रह
पार्टी कार्यालयमा राखिएका बोर्ड र कार्यकर्ताका झन्डा फ्याँकेर समस्या समाधान नहुने भन्नै कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले संयमित हुन मधेसी दलका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मधेसका माग पूरा गर्न कांग्रेसले दोस्रो चरण निर्वाचन प्रस्ताव राखेको र सोहीअनुसार प्रतिपक्ष एमालेसँग पनि वार्ता र छलफललाई अघि बढाइरहेका बेला पार्टी कार्यालयका बोर्ड र कार्यकर्ताका घरमा राखेका झन्डा फ्याँक्ने र च्यात्ने प्रवृत्तिले बनिरहेको वातावरण खलबल्याउने उहाँले बताउनुभएको छ । बोर्ड र झन्डा फ्याँक्नु निन्दनीय भएको भन्दै उहाँले मधेसका अधिकार पूरा गराउन पनि मधेसी दल चुनावमा आउनुपर्ने जिकिर गर्नुभयो ।

उपेन्द्र र गच्छदारका जिल्ला नेता पनि आन्दोलनमा
सरकारमा सहभागी फोरम लोकतान्त्रिक र चुनावमा सहभागी हुने बताइरहेको संघीय समाजवादी फोरम नेपालका जिल्ला नेताहरू भने चुनावको विपक्षमा देखिएका छन् । स्थानीय निर्वाचनमा सहभागी नहुने भन्दै राजपा नेपालले घोषणा गरेको विरोधका कार्यक्रममा सहभागी हुँदै जिल्ला नेताहरूले मधेसविरोधी निर्णय आफूहरूलाई मान्य नहुने बताएका छन् । पहिलो चरण निर्वाचनमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले दोस्रो चरणमा पनि सहभागी हुने बताइरहेको छ । त्यसैगरी, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार वर्तमान सरकारमा सहभागी हुनुहुन्छ ।
राजपाले सदरमुकाम परासीमा आयोजना गरेको मसाल जुलुस र लाठी जुलुसमा सहभागी हुँदै संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष सुवास गिरीले मधेसका माग पूरा नभएसम्म चुनाव सम्भव नभएको भन्दै आन्दोलनमा आउन केन्द्रीय नेतृत्वलाई सुझाव दिनुभएको थियो ।अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।