0 COMMENTS

काठमाडौं१५, जेठ ०७४/ गणतन्त्र दिवस, २०७४ को शुभ अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दछु । यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पुर्याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा साहदत प्राप्तु गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनाका लागि शहीदहरूले पुर्याएको योगदानको उच्च सम्मान व्यक्त गर्दछु ।
जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । सोही संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने यही जेष्ठ ३१ गते उल्लासमय रूपमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकोले पहिलो चरणको निर्वाचनझैं दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।
संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलूकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता हो ।

यसले मात्र नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा नेपालको संविधानले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न सकिन्छ । यही २०७४ साल माघ ७ गतेसम्म सम्पन्न हुने संघीय संसद् र प्रदेश सभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने छ र संक्रमण कालको अन्त्य हुनेछ । उल्लेखित कार्यभार पुरा गर्न सरकार सबै पक्षहरूसँग सम्वाद, सहमति र सहकार्यका लागि क्रियाशील रहँदै आएको छ । यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा समस्त नेपालीहरुबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
अन्त्यमा, नेपालको संविधान कार्यान्वयन, पुननिर्माण तथा नवनिर्माण र आर्थिक विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग पु¥याउनका साथै सहिदका अधुरा सपनाहरु, जनताका असीमित आकांक्षाहरु पूरा गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिवद्व रही सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै गणतन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।पुष्प कमल दाहाल ‘प्रचण्ड’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।