0 COMMENTS

 भक्तपुर ९ ,जेठ०७४/ भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ ।

भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६:३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेले भने, “भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस छुट्नेछ, प्रत्येक दिन बिहान ६:३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।” साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उनले बताए ।

सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताए ।

स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उनले बताए । साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटो गरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरे पनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताए ।

कार्यकारी निर्देशक पाण्डेले भने, “पहिलो चरणमा भक्तपुरको नयाँ बाटोमा मात्रै अनुमति पाएका छौँ, यहाँ २० वटा बस सञ्चालन गर्नेछौँ, विभागले पुरानो बाटोका लागि पनि अनुमति दिएलगत्तै दुईवटै रुटमा साझाका बस सञ्चालन गर्छौं ।”

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागे पनि हाललाई त्यो रुट भने पाउन सकेन । साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरे पनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उनले बताए ।
– 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।