0 COMMENTS

सिन्धुली६,जेठ०७४ / सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो । बिपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा.१६प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका बस्ने अमित गुप्ताले चलाएर ल्याएको जिपमा खानतलासी गर्दा पाँच क्विन्टल चाँदी फेला परेपछि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए । ‘यदि वैधानिक थियो भने यति ठूलो परिमाणको चाँदी ल्याउँदा हेलिकोप्टर प्रयोग गरिन्थ्यो या सडकमार्गबाट ल्याउँदा सुरक्षाविना ल्याइँदैन थियो,’ पंजियारले भने, ‘एक त यति ठूलो परिमाणको बहुमूल्य धातु, त्यसमा पनि रातको समयमा काभ्रे–सिन्धुली हुँदै जनकपुर लैजान लाग्नुले पनि आशंका पैदा भएको हो ।’

प्रहरीले नियन्त्रण लिएर अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय महोत्तरीलाई बिहीबार राति नै बुझाउन लगे पनि कार्यालयले बुझ्न नमानेको प्रहरी उपरीक्षक पंजियारले बताए । आन्तरिक राजस्व कार्यालय बर्दिबासले चाँदी बुझ्न नमानेपछि प्रहरीले आन्तरिक राजस्व कार्यालय बारा पथलैया लगेको छ । तर, आन्तरिक राजस्व कार्यालय पथलैयाले पनि बुझ्न आनाकानी गरेको छ ।

कार्यालयले बुझ्न नमानेपछि चाँदीको सुरक्षासहित सिन्धुलीबाट गएको सुरक्षाकर्मीलाई राजस्व कार्यालयको कम्पाउन्डभित्र गाडी राखेर फोटो खिचेर ल्याउनू भन्ने आदेश दिएको प्रहरी उपरीक्षक पंजियारले बताए । चाँदीको बिल देखिए पनि राति ल्याउनु, ठूलो परिमाण देखिनु र राजस्व कार्यालयले बुझ्न नमान्नुले आशंका पैदा गरेको छ । ‘कार्यालयमा कर्मचारी छन्, तर बुझ्न र छानबिन गर्न तयार हुँदैनन्,’ पंजियारले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।