0 COMMENTS

काठमाडौं३०बैशाख २०७४ / निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७५ प्रतिशत बढी मत खस्ने दाबी गरेको छ। दोस्रो संविधानसभा निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको र स्थानीय निर्वाचनमा आफन्त/नातेदार उम्मेदवार हुने भएकाले पनि धेरै मतदाता मतदानमा सहभागी हुने आयोगको तर्क छ। आयोगले स्थानीय सरोकारका विषयसँग जोडिएको र मतदाताहरूका नजिकका आफन्त तथा टोलछिमेक एवं नातेदारसमेत उम्मेदवार भएका कारण पनि मतदाताहरू निर्वाचनमा बढी भन्दा बढी सहभागी हुने भन्दै दोस्रो संविधानसभा निर्वाचनमा भन्दा बढी मत खस्ने दाबी गरेको हो।

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मतदातालाई र मतदाताले उम्मेदवारलाई नजिकबाट नियालिरहेको र स्थानीय स्तरकै भएका कारण पनि संविधानसभाको दोस्रो निर्वाचनमा भन्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा बढी मत खस्ने दाबी गरे। ‘हामीले संविधानसभाको दोस्रो निर्वाचनमा भन्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा बढी संख्यामा मत खस्ने अपेक्षा गरेका छौं, उम्मेदवार पनि स्थानीय स्तरकै र मतदाता पनि स्थानीय भएकै कारण आयोगले यो अपेक्षा गरेको हो,’ सहसचिव ढकालले भने। उनका अनुसार ४ मंसिर, २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ७५ प्रतिशतको हाराहारीमा मत खसेको थियो। ढकालले पहिलो चरणअन्तर्गत आइतबार ३४ जिल्लाका ३ प्रदेशको मात्रै निर्वाचन हुन गइरहेकाले संविधानसभाको समग्र देशको मत प्रतिशतलाई उदाहरणका रूपमा मात्र लिनु जायज हुने बताए। पहिलो चरणअन्तर्गत आइतबार प्रदेश ३, ४ र ६ गरी ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदै छ। आयोगका अनुसार पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता सहभागी हुँदै छन्। निर्वाचनका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ।राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।