0 COMMENTS

काठमाडौँ२८बैशाख०७४ /बूढानीलकण्ठ नगरपालिकाका प्रमुखका उम्मेदवारले नगरभित्र छुट्टै चक्रपथ बनाउनेदेखि केबुलकार चलाउनेसम्मका योजना मतदातासमक्ष राखिरहेका छन् ।

निर्वाचनको दिन नजिकिँदै जाँदा उनीहरुले घरदैलो कार्यक्रमको क्रममा उम्मेदवारहरुले आफ्ना विकास योजनाबारे सो क्षेत्रका जनतासमक्ष प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।ऐतिहासिक बूढानीलकण्ठ मन्दिर, विष्णुमतीको उद्गमस्थल, कपन गुम्बा, शिवपुरी निकुञ्जजस्ता धार्मिक र पर्यटकीयस्थल रहेको यो क्षेत्रमा दलहरुबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विसं २०७१ मा मात्रै नगरपालिका बनेको यो क्षेत्रको विसं २०६८ जनगणनाअनुसार एक लाख सात हजार ९१८ जनसङ्ख्या रहेको छ । उन्नाइस मतदान केन्द्रमा ४७ बुथ रहने यो नगरमा ४० हजार २१० जना मतदाता छन् ।

चपली भद्रकाली, बूढानीलकण्ठ, खड्का भद्राकाली, महाँकाल, कपन, चुनिखेलमा गरी यो नगरमा १३ वडा छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसबाट प्रमुखमा राजु श्रेष्ठ, उपप्रमुखमा सुभद्रा खड्का, नेकपा (एमाले)बाट प्रमुखमा उद्धव खरेल, उपप्रमुखमा रमा राई, नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा रविन अधिकारी र उपप्रमुखमा होमकुमारी दुलाल, राप्रपाबाट प्रमुखमा सानुकान्छा श्रेष्ठ र उपप्रमुखमा सावित्री क्षेत्री थापा, मधेसी जनअधिकार फोरमबाट प्रमुखमा लक्ष्मण गुरुङ र उपप्रमुखमा अनिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा छविबहादुर खनाल र उपप्रमुखमा सीता शर्मा तथा नेकपा (संयुक्त)बाट प्रमुखमा रामशरण उप्रेती उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनमा प्रमुखमा पुरुष १४ जना, उपप्रमुखमा महिला छ जना छन् । त्यसैगरी वडाध्यक्षमा ५९ पुरुष र चार महिला, खुला वडा सदस्यमा ९९ पुरुष र ११ महिला, महिला वडा सदस्यमा ५६ जना तथा दलित महिला वडा सदस्यमा ४४ जनाको उम्मेदवारी परेको छ ।

भौतिक पूर्वाधार र सडक यातायात, खानेपानीको व्यवस्थापनलगायत यो क्षेत्रको प्रमुख समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् ।

काँग्रेसबाट प्रमुखका उम्मेदवार राजु श्रेष्ठले नगरको गुरुयोजना बनाउनेदेखि वृद्ध भत्ता दोब्बर पार्ने, महिला सशक्तीकरण बढाउने, धोबीखोला करिडोरलाई तीव्रता दिनेजस्ता विकासको योजना आफूसँग रहेको बताउनुभयो ।

उहाँले आफूले प्रमुखमा जितेमा मासिक पारिश्रमिक र भत्ता नलिने घोषणा गर्दै दुई वर्षअघि भूकम्प गएपछि राहत तथा उद्धारमा आफूले गरेको कामका कारण पनि आफूलाई मतदाताले मत दिने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका प्रमुख पदका उम्मेदवार उद्धव खरेलले चुनाव जितेमा ‘दिनमा होइन, छिनमै काम’ भन्ने भावका साथ आफूले काम गर्ने बताउनुभयो । नगर चक्रपथ बनाउनेदेखि केबुलकार चलाउनेसम्मका विकासका आफ्नो योजना रहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार रविन अधिकारीले आफूले विगत पाँच वर्षदेखि बूढानीलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधिको रुपमा काम गरिरहेको जानकारी दिँदै त्यसबाट धेरै समस्या बुझ्ने र समाधानको उपाय खोज्नेबारेमा आफ्नो अनुभव रहेको टिप्पणी गर्नुभयो ।नगरपालिका कार्यालयले दिने सबै सेवा, प्रत्येक हप्ता प्रत्येक वडामा दिने व्यवस्था आफूले मिलाउने बताउनुभयो ।

राप्रपाका प्रमुखका प्रत्याशी सानुकान्छा श्रेष्ठले कपन–चुनीखेल सडक निर्माणको क्रममा आफूले व्यक्तिगत  लागनीमा डेढ रोपनी जग्गा किनी बाटो निर्माणका लागि प्रयोग गर्न दिएको र पुल नीर्माणमा उल्लेखनीय भुमीका नीर्भाह गरेकाे,भुकम्प पीडीत हरूलाइ ब्यक्तीगत सहयाेग गरेकाे लगाएत बूढानिलकण्ठ नगरपालिकामा अाफुले गरेकाे सामाजीक कामकाे स्मरण गराउँदै अाफ्नाे प्रमुख उदेश्य भनेकै   नितान्त समाज सेवा रहेकाेले अाफुले नगर प्रमुखमा  उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चाबाट प्रमुखका उम्मेदवार छविबहादुर खनाल नगरपालिकाभित्र बढ्दो विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुहुन्छ ।

प्रमुख पदका उम्मेदवार महेश केसीले भने फरक शैलीमा आफ्नो चुनाव प्रचार गरिरहनुभएको छ । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी केसीले खाली खुट्टा मतदाताको घर आँगनमा पुग्दै मत मागिरहनुभएको छ ।

आफूले जितेमा खेलकुदलाई प्राथमिकता दिने बताउने केसीले स्थानीय माटोको स्पर्श लिन आफू खाली खुट्टा हिँडेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।