0 COMMENTS

काठमाडौँ,२ण बैशाख २०७४/नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार: शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताए । उनले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताए । “दोषीलाई कारबाही नहुनु, पत्रकारमाथि आक्रमण गर्नेमाथि छानबिन नहुने जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन्”, उनले भने “प्रवृत्तिगतरुपमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन् । पूर्णरुपमा प्रेस स्वतन्त्रता भन्ने छैन ।”

उनले व्यवहारमा प्रेस स्वतन्त्रता नभएकाले पत्रकारले अहिले पनि स्वनियन्त्रणमा समाचार लेख्नु परेको बताए । अध्यक्ष डा. विष्टले नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरुपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बन्न नसकेको बताए । पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उनले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताए ।

उनले अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताका घटनामा कमी आए पनि निर्भिक ढङ्गबाट काम गर्ने वातावरण पत्रकारलाई नभएको जानकारी गराए । महासचिव उजिर मगरले यस वर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराए । प्रभातफेरिमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस सेन्टर नेपालका पूर्वमहासचिव ओम शर्मालगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

उनका अनुसार पत्रकारमाथिको दुव्र्यवहारका १६, पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् । त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।