0 COMMENTS

काठमाडौँ, १६ वैशाख ०७४/ वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात् भएकाले युगादी तिथिका रुपमा समेत मानिन्छ ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नी र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको वैज्ञानिक महत्व समेत छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।