0 COMMENTS

काठमाडाैँ११बैशाख०७४/ नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो । सरकारको निर्णयले निर्वाचन सुरक्षामा थप सहज भएको गृहका अधिकारीहरूले बताएका छन् । ‘दुई चरणको निर्वाचनले हामीलाई सहज भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘दुई चरणमा गर्दा स्रोत–साधन र जनशक्तिमा समस्या हुँदैन र सुरक्षा अवस्था थप बलियो हुन्छ ।’ एउटा प्रदेशको प्रहरीलाई अर्काे प्रदेशमा केन्द्रित गरेर सुरक्षा योजना कार्यान्वयन गर्ने गृहको तयारी छ । निर्वाचन सुरक्षा रणनीति पुरानै भए पनि त्यसको कार्यान्वयनमा नयाँ रणनीतिक योजना बनाएर लागू गरिने प्रवक्ता पन्थीले बताए । निर्वाचन सुरक्षा विश्लेषणका लागि गृहले सबै क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठी गर्दै आएको छ । आइतबार मध्यमाञ्चलअन्तर्गतका तराईका जिल्लाको सुरक्षा गोष्ठी गरिएको छ ।

सेना खटाउने प्रस्ताव शीतलनिवासमा
—स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ ।

—निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहु“दा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ । निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए ।

म्यादीलाई ७ हजार १ सय पोसाक भत्ता
स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पोसाक दिन नसकेपछि सरकारले सात हजार एक सय रुपैयाँ पोसाक भत्ता दिने निर्णय गरेको छ । तर, तालिम सकिन लाग्दा पनि पोसाक भत्ता अझै अर्थ मन्त्रालयले निकासा गरेको छैन ।

पोसाक आफैँ खरिद गर्न म्यादी प्रहरीलाई भत्ता दिन लागिएको हो । सार्वजनिक खरिद ऐनअनुसार पोसाक भत्ता किन्ने समय नभएकाले उनीहरूलाई ड्रेसकोड तोकेर पोसाक भत्ता दिन लागिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । सर्ट–पाइन्ट, नीलो डाङ्री, जुत्ता, टोपी, पेटी, सिठी, मोनोग्राम र लाठी खरिद गर्न म्यादी प्रहरीलाई भत्ता दिन लागिएको हो । नेपाल प्रहरीले तयार पारेको अनुमानित लागतका आधारमा पोसाक भत्ता सात हजार एक सय तय गरिएको छ । भत्ता रकम जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीलाई वितरण हुन्छ ।

म्यादीको पोसाकमै ५३ करोड खर्च हुने
म्यादी प्रहरीको पोसाकमै ५३ करोड २५ लाख रुपैयाँ खर्च हुने भएको छ । स्थानीय निर्वाचनमा खटिने ७५ हजार म्यादी प्रहरीले पोसाकबाहेक मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । यसका साथै सम्बन्धित जिल्लाको दररेटअनुसार रासन भत्तासमेत उनीहरूले पाउनेछन् । ५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब, सम्बन्धित जिल्लाको दररेटअनुसार रासन भत्ता र सात दिनका लागि दैनिक पाँच सयका दरले भत्ता पाउनेछन् ।

निर्वाचनमा खटिने सुरक्षाकर्मीले दैनिक पाँच सय रुपैयाँ भत्ता पाउने भएका छन् । २ सय ५० रुपैयाँ खाजा भत्ता र २ सय ५० रुपैयाँ विशेष भत्ता दिन दिइने गृह प्रवक्ता बालकृष्ण पन्थीले बताए । यो भत्ता म्यादी प्रहरीले पनि पाउनेछन् ।–नयाँ पत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।